गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई राजनीतिक दल वा राजनीतिक उद्देश्य भएका संस्थाको पद तथा सदस्यता त्याग्न दिर्देशन दिएको छ।
संघले सात दिनभित्र पद तथा सदस्यता त्याग्न निर्देशन दिएको हो।
संघका महासचिव डा. चिरञ्जीवी खड्काले एक परिपत्र जारी गर्दै केही पदाधिकारी तथा सदस्यहरू राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा निर्वाचित, मनोनीत वा चयन भएको भन्दै त्यस्तो आवद्धता त्याग्न निर्देशन दिएका हुन्।
'संघको विधान र संस्थागत निर्णयको पालना गर्दै संघको गैरराजनीतिक स्वरूप अक्षुण्ण राख्नु प्रत्येक पदाधिकारी तथा सदस्यको जिम्मेवारीसमेत हो। यसै सन्दर्भमा, संघका केही पदाधिकारी तथा सदस्यहरू राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा निर्वाचित, मनोनीत वा चयन भएको सम्बन्धमा संघमा विभिन्न उजुरी तथा गुनासाहरू प्राप्त भएका छन्,' जारी भएको परिपत्रमा उल्लेख छ।
प्राप्त उजुरी तथा गुनासाहरूका विषयमा ५ अक्टोबर २०२६ मा भएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा विस्तृत छलफल भएको संघले जनाएको छ।
बैठकमा गैरराजनीतिक पहिचान, संस्थागत स्वायत्तता तथा विधानमा निहित मूलभूत मान्यताहरूको संरक्षण र परिपालना सुनिश्चित गर्ने निर्णय भएको उल्लेख गरेको छ।