सोमबार राति परेको वर्षाले दाना लाग्ने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान पुर्याएको छ।
रूपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकरका रमेश गौतम यति बेला निकै पीडामा छन्।
सोमबार राति परेको वर्षाले रमेशले झन्डै एक बिगाहा जमिनमा लगाएको गहुँ बाली पूर्ण रूपमा नष्ट गरिदिएको छ। गहुँको बाला र दाना लागिसकेको अवस्थामा परेको पानीले बाली खेतमै ढालेपछि रमेशको वर्षभरिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको हो।
रमेशको मात्र होइन, सोही क्षेत्रकी सीमा गौतमको अवस्था पनि उस्तै छ। सीमाले १० कट्ठा बढी खेतमा लगाएको गहुँमा वर्षाले नराम्रोसँग क्षति पुर्याएको छ। यो समस्या रमेश र सीमाको मात्र नभई फर्साटिकर र आसपासका क्षेत्रका किसानहरूको साझा पीडा बनेको छ।
बाला र दाना लागिसकेको समयमा भएको वर्षाले गहुँ खेती ढालेपछि घरमै खानको लागि पनि यस वर्ष गहुँ किन्नुपर्ने अवस्था आउने रमेशले बताए। रमेशले यस वर्ष आफ्नो स्वामित्वको ३ कट्ठा र अधियामा लिएको १५ कट्ठा गरी १८ कट्ठा जग्गामा व्यावसायिक गहुँ खेती गरेका थिए।
खेती लगाउने समयमा लामो समयसम्म खडेरी परेपछि ठुलो खर्च गरेर बोरिङबाट पानी तानेर सिँचाई गरी हुर्काएको गहुँले उत्पादन दिने समयमा परेको पानीले क्षति पुर्याइदिएको रमेशले बताए। ‘खेतमा बाला लहलहाएको गहुँ ढलेर सोत्तर भएको छ, गहुँको बोट ढालेपछि अब त्यसमा दाना नछिप्पिने र छिप्पिएको भए पनि कुहिने हुन्छ,’ रमेशले भने।
कृषि ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी एवं वरिष्ठ कृषि प्रसार अधिकृत विवेक पन्तका अनुसार सोमबारको वर्षाले रुपन्देहीमा गहुँ बालीमा कति क्षति भयो भन्ने विवरण प्राप्त नभएको बताए। ‘सोमबारको पानीले त्यति ठूलो क्षति गरेको जानकारीमा आएको छैन, तर पनि सबै पालिकाहरूबाट विवरण मागिरहेका छौँ,’ पन्तले भने।
सोमबारको वर्षाले केही बालीलाई राहत दिए पनि पाकिसकेको तोरी, पाक्दै गरेको गहुँ र खन्न तयार भएको आलुमा भने क्षति पुर्याएको छ। खन्ने अवस्थामा रहेको आलुमा पानी पर्दा आलु खेतमै कुहिने समस्या हुन्छ। वर्षाले वर्षे तरकारी, मकै, प्याज र भर्खरै उम्रिँदै गरेका बालीलाई भने फाइदा पुर्याएको छ।