नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का क्युजे मोटर नेपालको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्।
नेपालका लागि क्युजे मोटरको आधिकारिक वितरक ह्याम्स ग्रुपअन्तर्गतको हाइली एड्भान्स्ड मोटर्स प्रालि (ह्याम्स मोटर्स) ले खड्कालाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो।
काठमाडौंको टेकुस्थित क्युजे मोटरको सोरुममा आयोजित कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक समीर भण्डारी र पारस खड्काबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
पारस खड्कालाई ब्रान्ड एम्बेस्डरका रूपमा आबद्ध गर्न पाउँदा खुसी व्यक्त गर्दै ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारीले क्युजे मोटरले नेपाली बजारमा गुणस्तरीय र प्रिमियम दुईपांग्रे सवारीसाधन उपलब्ध गराउँदै आएको बताए।
उनले क्युजे मोटरका मोटरसाइकलहरू विश्वप्रसिद्ध बेनेली ब्रान्डकै गुणस्तर र प्रिमियम विशेषतासँग मेल खाने उल्लेख गरे।
नेपाली बजारमा क्युजे मोटरले पछिल्लो समय दुईपांग्रे सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै गएको उनको भनाइ थियो।
भण्डारीले पारस खड्काजस्तो नेपाली खेलकुद क्षेत्रमा स्थापित र लोकप्रिय व्यक्तित्वसँग सहकार्य गर्न पाउनु कम्पनीका लागि खुसीको विषय भएको बताए।
खड्काको लोकप्रियता र विश्वसनीयताले नेपाली बजारमा क्युजे मोटरको ब्रान्ड पहिचान विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
क्युजे मोटर चीनको प्रख्यात मोटरसाइकल उत्पादक कम्पनी हो।
सन् १९८५ मा स्थापना भएको यो कम्पनी चीनको झेजियाङ प्रान्तस्थित छ। क्युजे मोटर जिली ग्रुपअन्तर्गतको कम्पनी हो।
यसले विभिन्न क्षमताका मोटरसाइकल, स्कुटर तथा अफरोड सवारीसाधन उत्पादन गर्दै आएको छ।
क्युजे मोटरले सन् २००५ मा इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीलाई आफ्नो समूहमा समावेश गरेको थियो।
त्यसपछि कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन र फरक क्षमताका इन्जिन भएका मोटरसाइकल उत्पादनमा कम्पनी परिचित छ।
ह्याम्स मोटर्सले नेपालमा क्युजे मोटरका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ।
कम्पनीले नेपाली बजारमा स्पोर्टी डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विशेषतायुक्त दुईपांग्रे सवारीसाधन उपलब्ध गराउने लक्ष्य राखेको छ।
पारस खड्कासँगको सहकार्यले नेपाली बजारमा क्युजे मोटरको ब्रान्ड प्रवर्द्धन, ग्राहकसँगको सम्बन्ध विस्तार र युवा पुस्तामाझ ब्रान्डको पहुँच बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
युजे मोटरको स्थापना सन् १९८५ मा भएको हो।
बेनेली सन् २००५ मा यसको समूहमा आबद्ध भएको थियो। नेपालमा ह्याम्स मोटर्स यसको आधिकारिक वितरक हो।