प्रधानमन्त्री बालेन शाह आज राजकीय भ्रमणका लागि भारत जाँदै छन्।
३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा जान लागेका हुन्।
उनी आज मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी रहनेछन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट राजदूतसहित केही अधिकारी थपिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै निजी क्षेत्रका ५२ जना प्रतिनिधि पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी हुनेछन्।
निजी सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भ्रमण टोलीमा जानेछन्।
यससँगै भ्रमणमा सहभागी हुनेको संख्या एक सयभन्दा बढी हुनेछ।
प्रधानमन्त्री शाहले भोलि सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा क्षेत्रसँग सम्बन्धित परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताएका थिए।
वार्तामा व्यापार, पारवहन, लगानी, सम्पर्क सञ्जाल, पूर्वाधारलगायत आर्थिक सहकार्यका विषयमा छलफल हुनेछ।