स्कटल्यान्डका ब्याटर जर्ज मुन्सीले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा देखाएको प्रदर्शनले उनलाई नेपाली क्रिकेट दर्शकमाझ चर्चामा ल्याएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले कुनै विकेट नगुमाई पूरा गर्यो।
त्यसमा मुन्सी एक्लैले अविजित १२५ रन बनाए।
उनले ५४ बलमा आठ चौका र १२ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाए।
यी दुईले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे।
सुदूरपश्चिमले १३.३ ओभरमै लक्ष्य पूरा गर्दै १० विकेटको जितसहित तेस्रो संस्करणको एनपिएल उपाधि जित्यो।
फाइनलमा मुन्सी प्लेयर अफ द म्याच घोषित भए।
तर मुन्सीको यो विस्फोटक ब्याटिङ कुनै एक खेलको संयोग होइन।
उनी स्कटल्यान्डका सबैभन्दा भरपर्दा र आक्रामक ब्याटरमध्ये एक हुन्। छोटो समयमै खेलको गति बदल्न सक्ने क्षमता उनको मुख्य विशेषता हो।
टी–२० क्रिकेटमा आक्रामक ब्याटिङ र एकदिवसीयमा लामो इनिङ्स खेल्न सक्ने क्षमताका कारण उनी स्कटल्यान्डका महत्वपूर्ण खेलाडी बनेका छन्।
मुन्सीको जन्म सन् १९९३ फेब्रुअरी २२ मा इङ्ल्यान्डको अक्सफोर्डमा भएको हो। अहिले ३३ वर्षका उनी देब्रेहाते ब्याटर हुन्। उनको क्रिकेट यात्रा भने अरू खेलाडीको भन्दा केही फरक छ। उनी सुरुमा व्यावसायिक गल्फ खेलाडी बन्न चाहन्थे।
१२ वर्षको उमेरमा गल्फ खेल्ने छात्रवृत्ति पाएपछि उनी स्कटल्यान्ड पुगेका थिए। एडिनबर्गनजिकैको लोरेटो स्कुलमा पढ्दा उनी गल्फ खेल्थे। १६ वर्षको उमेरमै उनी गल्फमा ‘स्क्र्याच’ ह्यान्डिक्याप स्तरका खेलाडी बनिसकेका थिए। यसको अर्थ गल्फमा उनी निकै राम्रो खेलाडी थिए। अमेरिकामा गएर पढ्दै गल्फ खेल्ने योजनासमेत बनाएका थिए।
तर १८ वर्ष पुगेपछि उनले गल्फ छाडेर क्रिकेट रोजे। गल्फमा निरन्तर अभ्यास गर्नुपर्ने भए पनि क्रिकेटमा टोलीसँगै खेल्न पाउने वातावरण उनलाई मन परेको थियो। ब्रिस्बेनमा बिताएको एक वर्षले पनि क्रिकेट रोज्ने निर्णयमा प्रभाव पारेको थियो। त्यसपछि उनले स्कटल्यान्डमै बसेर क्रिकेटलाई निरन्तरता दिए।
सन् २०१५ मा आयरल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल्दै उनले स्कटल्यान्डको राष्ट्रिय टोलीबाट खेल्न थालेका थिए। सन् २०१७ मा हङकङविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। त्यसपछि उनी स्कटल्यान्डको ब्याटिङका महत्वपूर्ण खेलाडी बने।
सन् २०१८ मा इङ्ल्यान्डविरुद्ध स्कटल्यान्डले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्दा मुन्सीले ५५ रन बनाएका थिए। स्कटल्यान्डले इङ्ल्यान्डलाई ६ रनले हराएको त्यो ऐतिहासिक खेलमा मुन्सीले क्यालम म्याक्लियोडसँग महत्वपूर्ण साझेदारी गरेका थिए। त्यसपछि उनको चर्चा अन्तर्राष्ट्रिय क्रिकेटमा थप बढेको थियो।
सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले अविजित १२७ रन बनाए। ५६ बल खेलेका उनले पाँच चौका र १४ छक्का प्रहार गरेका थिए। अर्का ओपनर काइल कोएट्जरसँग मिलेर पहिलो विकेटका लागि २०० रनको साझेदारी गरे। उनीहरूको साझेदारीमा स्कटल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २५२ रन बनाएको थियो। यो स्कटल्यान्डको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च योगफल हो।
मुन्सीको आक्रामक ब्याटिङको अर्को विशेषता रिभर्स स्वीप हो। बलको दिशा र फिल्डरको अवस्थाअनुसार उनी ब्याटिङ गर्ने शैली बदल्न सक्छन्। उनको यही शैलीले विपक्षी बलरलाई दबाबमा पार्ने गरेको छ। उनी आवश्यक पर्दा मैदानको जुनसुकै दिशामा बल प्रहार गर्न सक्छन्।
विश्वकपमा पनि उनले आफ्नो क्षमता देखाइसकेका छन्। सन् २०२२ को टी–२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध उनले ५३ बलमा अविजित ६६ रन बनाएका थिए। उनको यही प्रदर्शनको मद्दतमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई ४२ रनले हराएको थियो। उक्त खेलमा स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै १६० रन बनाएको थियो।
त्यस्तै, सन् २०२६ को टी–२० विश्वकपमा इटालीविरुद्ध उनले ५४ बलमा ८४ रन बनाए। उनको इनिङ्सको मद्दतमा स्कटल्यान्डले २० ओभरमा चार विकेट गुमाएर २०७ रन बनाएको थियो। जवाफमा इटाली १३४ रनमै समेटिएपछि स्कटल्यान्डले ७३ रनको जित निकालेको थियो।
सन् २०२५ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा उनले १९१ रन बनाउँदै अर्को कीर्तिमान बनाए। १५० बल खेलेका उनले १४ चौका र ११ छक्का प्रहार गरेका थिए। यो एसोसिएट राष्ट्रका ब्याटरले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो।
तर मुन्सीको त्यो कीर्तिमानी इनिङ्सले स्कटल्यान्डलाई जिताउन सकेन। उनले बनाएको १९१ रनको मद्दतमा स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६९ रन बनाएको थियो। जवाफमा नेदरल्यान्ड्सले म्याक्स ओडाउडको अविजित १५८ रनको मद्दतमा ४९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेदरल्यान्ड्सले चार विकेटले जितेको उक्त खेलमा मुन्सीको व्यक्तिगत प्रदर्शन भने एसोसिएट क्रिकेटको कीर्तिमान बन्यो।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रदर्शन पनि प्रभावशाली छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को उपलब्ध तथ्याङ्कअनुसार उनले अहिलेसम्म ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा दुई हजार ७७७ र टी–२० अन्तर्राष्ट्रियमा दुई हजार ५९८ रन बनाएका छन्। दुवै प्रारूपमा उनको नाममा तीन–तीन शतक छन्। यसरी उनले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच हजार ३७५ रन बनाइसकेका छन्।
मुन्सीले राष्ट्रिय टोलीबाहेक विभिन्न देशका फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा पनि खेलेका छन्। इङ्ल्यान्डका ह्याम्पसायर, केन्ट र नटिङ्घमसायर तथा बंगलादेशको सिलेट स्ट्राइकर्सलगायत टोलीबाट खेलिसकेका उनी फ्रेन्चाइज क्रिकेटमा पनि परिचित नाम हुन्।
नेपालमा पनि उनको यो पहिलो सहभागिता होइन। यसअघि एनपिएल खेलेका मुन्सीले यसपटक सुदूरपश्चिम रोयल्सबाट खेल्दै फाइनलमा उत्कृष्ट प्रदर्शन गरे। स्कटल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङबाट पहिचान बनाएका उनले नेपाली घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा पनि त्यही क्षमता देखाए। सुदूरपश्चिमलाई पहिलोपटक एनपिएल च्याम्पियन बनाउन उनको १२५ रन निर्णायक बन्यो।