नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले बैंकलाई जग्गामा समेत लगाइएको हकबन्दीले समस्या परेको बताएका छन्।
आइतबार अर्थ समितिमा भएको छलफलमा बैंकर केसीले यस्तो बताएका हुन्।
केसीले भने, 'बैंकहरूको काम जग्गाको किनबेच गर्ने होइन, तर कर्जा असुलीको क्रममा यस्तो गर्नुपर्ने हुन्छ। त्यसैले बैंकहरूलाई पनि जग्गामा हदबन्दी लाग्ने व्यवस्थाले समस्या भएको छ।'
उनले अन्यलाई सरह बैंकलाई २५ रोपनीसम्ममा जग्गा राख्न सक्ने गरी हदबन्दी लगाउन नहुने बताए।
केसीले पछिल्लो समय जग्गाको भाउ घटेकोले अहिलेको मूल्यको आधारमा धितोमा राखिएको जग्गाको मूल्यांकन कम भयो भनेर बैंकरहरू पक्राउ गर्न नहुने समेत बताए।
केही समयअघि धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै सञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक) का तत्कालीन कर्मचारीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो।
केसीले सडकबाट बैंकिङ क्षेत्र प्रति दबाब दिने, कर्मचारीहरू माथि हातपात गर्ने जस्ता काम पछिल्लो समय बढ्दा समस्या बढेको समेत बताए।
उनले बैंकहरूले विदेशबाट समेत पुँजी ल्याइरहेकाले यस्ता गतिविधिले अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकहरूको नकारात्मक छवी बन्ने र यसले पुँजी ल्याउन समस्या हुने समेत बताएका छन्।