नेपाल धितोपत्र बोर्डले प्रतिसेयर नेटवर्थ ९० रूपैयाँ नपुगेको भन्दै सोमबार १४ कम्पनीलाई आवेदन प्रक्रियाबाट हटाएको थियो।
यी कम्पनीमा एपेक्स हस्पिटालिटी, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबल कार, ठमेल प्लाजा होटल, रिचेट जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल, पुवा खोला वान हाइड्रोपावर, एकोर्ड फर्मास्युटिकल्स, सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन, प्रभु हेटिकप्टर र सानिमा हाइड्रोपावर हुन्।
धितोपत्र बोर्डले प्रक्रियाबाट हटाएका १४ वटामध्ये एक कम्पनीको विद्युत प्राधिकरणसँग गरिएको विद्युत खरिद सम्झौता (पिपिए) को सम्झौता अवधि सकिन लागेकोले आवेदन तत्काललाई रद्द गराएको बुझिएको छ।
सानिमा हाइड्रोपावरको विद्युत् उत्पादनको बाँकी अनुमति अवधि १२ वर्ष रहेको र विद्युत् खरिद सम्झौता (पिपिए) को अवधि पाँच वर्षभन्दा कम भएपछि तत्काललाई प्रक्रियाबाट हटाइएको हो।
सेयर निष्कासन प्रक्रिया चाँडो गरिदिने भन्दै बोर्ड अध्यक्ष निकट व्यक्तिहरूले ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) को कार्यसमिति सदस्यहरूले लगाएपछि बोर्डले यस्तो कदम चालेको हो।
सो समय पाइपलाइनमा रहेका ४३ मध्ये ४२ कम्पनीका जलविद्युत प्रर्वद्धकहरूसँग यस्तो कमिसन मागेको इप्पानको छलफलमा बताइएको थियो।
धितोपत्र बोर्डले पाइपलाइनबाट हटाएको कम्पनीमा भने ६ वटा मात्रै नेटवर्थ नपुगेका हाइड्रोपावर कम्पनी रहेको देखिएको छ।
२०८१ जेठमा लेखा समितिले प्रतिसेयर ९० रूपैयाँ नेटवर्थभन्दा कम भएका कम्पनीको सेयर जारी गर्न रोक्का गरेको थियो।
तर, यही कारण देखाएर बोर्डबाट परिचालितहरूले कमिसन मागेको आरोप खेपिरहेको बोर्डले पछिल्लो समय यस्तो कदम चालेको हो।
'हामीलाई नेटवर्थ नपुगेका कम्पनी सार्वजनिक गर्न धेरैले भनेका थिए, हामीले यस्ता कम्पनीलाई आवेदन प्रक्रियाबाटै हटाएका छौं,' बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने, 'उहाँहरूलाई प्रतिसेयर नेटवर्थ ९० पुर्याएर फेरि निवेदन दिन भनेका छौं।'
त्यस्तै इप्पानले भने धितोपत्र बोर्डले कमिसनका विषयमा बोर्डले मागे जस्तो आधिकारिक धारणा मंगलबारको बैठकमा छलफल गरेर दिने तयारी गरेको छ।
धितोपत्र बोर्डले प्रतिसेयर नेटवर्थ ९० रूपैयाँ नपुगेको भन्दै आवेदन प्रक्रियाबाट हटाएका कम्पनी
