सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने समयावधि थप भएको छ।
कम्पनीको हकप्रद सेयरमा माग बमोजिम आवेदन नपरेकोले समयावधि थप गरिएको हो।
यसअघि उक्त हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति आज (जेठ १९) गतेसम्म रहेकोमा अब सेयरधनीहरूले असार ३ गतेसम्म आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ताको अनुपातमा हकप्रद निष्कासन गरेको हो।
जस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको छ।
उक्त हकप्रद प्रयोजनको लागि इन्स्योरेन्सले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ।
वैशाख ४ गतेसम्मका कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी ट्रिपल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताहरूले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।