सागर डिष्टिलरी लिमिटेडले सोमबारदेखि सर्वसाधारणको लागि आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थियो।
कम्पनीले ११ लाख ९० हजार ६ सय ४० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो।
कम्पनीको सेयर बिक्री खुला असोज दुई गतेसम्म हुनेछ। सबै सेयर बिक्री नभएमा असोज १३ गतेसम्मको लागि आवेदन खुला गरिनेछ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रूपैयाँको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रूपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन सिंगल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ।
यसले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको जनाउँछ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
सन् २०१४ मा स्थापना भएको यस कम्पनी सन् २०२३ मे २१ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो।
कम्पनीको वार्षिक मदिरा उत्पादन ५० लाख लिटर छ। कम्पनीले रोयल ब्लु, ग्रे वुल्फ, नेप्से बुल्स, गभर्नर नामका मदिरा उत्पादन गर्दै आइरहेको छ।
कम्पनीले माल्ट स्प्रिट उत्पादनको नयाँ प्लाट स्थापना गर्न लागेको छ। यसको लागि ३३ करोड ४० लाख रूपैयाँ लागत लाग्ने र यसमध्ये ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत सेयर जारी गरेर पुँजी जुटाउने कम्पनीले उल्लेख गरेको छ।
कम्पनीमा आशुतोष खेतानको १४.५२ प्रतिशत, अल्का गोयलको १०.६३ प्रतिशत र सन्दिप जलानको ९.१४ प्रतिशत सेयर स्वामित्व छ।