नेप्सेका सूचीकृत थप पाँच जलविद्युत कम्पनीलाई हालैको बाढी र पहिरोले क्षति पुर्याएको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
यी कम्पनीमा पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रो, पाँचथर पावर, ग्रिन भेन्चर्स र सोलु हाइड्रो पावर रहेका छन्। यीमध्ये ग्रिन भेन्चर्स र सोलु हाइड्रो पावरबाहेक अन्य सबै आयोजनाको उत्पादन बन्द छ।
ग्रिन भेन्चर्सको आयोजनाको इन्टेकमा रूख अड्किएको कारण केवल एक घण्टाका लागि मात्र उत्पादन बन्द भएको थियो भने सोलु हाइड्रो पावर हाउस नजिकै पहिरो गएको छ। त्यसैले यी दुई आयोजनाबाट विद्युत उत्पादन जारी छ।
यसअघि अन्य नौ कम्पनीका ११ जलविद्युत आयोजनामा क्षति पुगेको कारण विद्युत उत्पादन नै बन्द भएको विवरण सार्वजनिक भएको थियो।
यी कम्पनीहरूमा हिमाल दोलखा हाइड्रोपावर, सानिमा माइ हाइड्रो, सुपरमाइ हाइड्रो, सगरमाथा जलविद्युत, माइखोला हाइड्रो, सान्भी इनर्जी, एशियन हाइड्रो, सामलिङ पावर र पञ्चकन्या माइ रहेका छन्।
हिमाल दोलखा हाइड्रोपावरका माइखोला हाइड्रो र माइखोला क्यासकेडमा क्षति पुगेको हो। त्यस्तै, सानिमा माइको माइखोला र माइखोला क्यासकेडमा पनि क्षति पुगेको छ।
सुपर माइ हाइड्रोपावर कम्पनीको सुपर माइ हाइड्रो र सगरमाथा जलविद्युत कम्पनीको सुपरमाइ एमा क्षति पुगेको छ। माइखोला हाइड्रोपावर कम्पनीको सुपरमाइ ए क्यासकेड, सान्भी इनर्जीको जोगमाइ खोला र जोगमाइ क्यासकेड आयोजनामा क्षति पुगेको छ।
एशियन हाइड्रोपावरको तल्लो जोगमाइ आयोजना, सामलिङ पावरको माइबेनी हाइड्रोमा क्षति पुगेको छ। पञ्चकन्या माइको माथिल्लो माइखोला आयोजनामा पनि क्षति भएको छ।