सेयर बजार लगानीकर्ताहरूको मनोविज्ञान देखाउने सूचक पनि हो।
बजारमा हरेक दिन एउटा पक्ष बजार वा कुनै कम्पनीको सेयर मूल्य घट्छ भनेर लागिरहेको हुन्छ भने अर्को पक्ष बजार वा सेयर मूल्य बढ्छ भनेर लागिरहेको हुन्छ।
बढ्छ र घट्छ भन्नेको रस्साकस्सीकै कारण बजारमा दिनभर उतारचढाव देखिइरहन्छ।
मंगलबारदेखि बजारमा यी दुवै पक्षबीच तीव्र टकराव देखिइरहेको छ। यही कारण मंगलबार र बुधबार दुवै दिन सेयर बजारमा कारोबार अवधिभर उच्च उतारचढाव देखियो। बजार बन्द हुँदा भने सेयर बजार परिसूचक झिनो अंकले बढ्यो।
बजार बढे पनि जित्नेहरूमा शक्ति देखिएको छैन। बजारमा अन्योल देखिएको छ। बुधबार नेप्सेमा बनेको मैनबत्ती चित्रले लगानीकर्ताहरूमा रहेको यस्तै अन्योल देखाएको छ।
मंगलबार २६५५ मा बजार बन्द भएकामा बुधबार बजार २६६१ बाट सुरू भयो।
अघिल्लो दिनभन्दा माथिबाटै बजार खुल्यो तर केही समयमै बजार घटेर अघिल्लो दिनभन्दा तल (२६४७) सम्म पुग्यो।
बजार घट्छ भन्ने र बढ्छ भन्नेबीचको रस्साकस्सीमा अन्ततः बढ्छ भन्नेकै जित भयो। र, बन्द हुँदा अघिल्लो दिनको भन्दा ९.६१ अंकले बढ्यो।
तर यहाँ विचार पुर्याउनुपर्ने विषय भनेको नेप्सेले बुधबार बनाएको उच्च विन्दु हो। नेप्से बढ्ने क्रममा २६७१ सम्म पुग्यो। बजार बढेको उच्च विन्दुबाट ६ अंकसम्म तल आयो।
यसले बजार बढ्छ भन्नेहरू पनि आफ्नो निर्णय प्रति आश्वस्त नभइरहेको देखाउँछ।
बजारको आगामी प्रवृत्ति के हुन सक्छ भनेर धेरै लगानीकर्ताहरू 'पर्ख र हेर' को अवस्थामा रहेको यसले देखाउँछ।
यसअघि यही साल असोज ८ गते नेप्से न्यून विन्दु २४८८ सम्म पुगेर बढ्ने क्रममा २६८९ सम्म पुगेको थियो। त्यसयता नेप्से सोही विन्दुलाई तगारो मानिरहेको छ। यही कारण नेप्सेले यो विन्दु कट्न सकिरहेको छैन।
ब्रोकर भरत रानाभाट भने अहिले बजारमा लगानी गर्ने अनुकूल समय भएको बताउँछन्।
'धेरै लगानीकर्ता नेप्से परिसूचकको आधारमा लगानी गर्छन्। तर परिसूचक होइन कम्पनीहरूको मूल्यलाई हेर्नुपर्छ,' रानाभाटले भने।
उनले बजारमा सेयर किन्ने समय भन्नुका पछाडि विभिन्न चार कारण औंल्याएका छन्।
१. बैंकको ब्याजदर न्यून हुनु।
२. पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ब्रोकरमार्फत मार्जिन कारोबारमा नयाँ नीतिगत व्यवस्था गर्नु।
३. अझै धेरै कम्पनीहरूबाट लाभांश घोषणा हुन बाँकी हुनु र लाभांश घोषणा गरिसकेकाबाट यस्तो लाभांश प्राप्त गर्ने समय बाँकी रहनु।
४. अहिले बजारमा न्यून मूल्यमा रहेका कम्पनीको संख्या धेरै हुनु।
रानाभाटले थप भने, 'राजनीतिक अवस्था के होला भन्ने कुराले मात्रै अहिले लगानीकर्ताहरू अन्योलमा देखिएका हुन्। तर अबको दुई–चार महिना सेयर किन्ने नै बेला हो।'
चार–पाँच महिनामा हुने निर्वाचनसँगै राजनीतिक घटना क्रम फेरिन सक्ने भएकाले पनि अहिले मूल्य घटेको बेला लगानी गर्न उपयुक्त हुने उनले बताए।