रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले विदेशमा रहेका नेपाली कामदारका लागि आजदेखि प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गरेको छ।
कम्पनीले मङ्सिर २२ गतेदेखि २५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। सो अवधिमा मागभन्दा कम आवेदन परे पुस ७ गतेसम्म आवेदन खुला हुनेछ।
यसअघि कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूलाई बुक–बिल्डिङ विधिबाट २०७८ मा सेयर विक्री गरेको थियो। यसरी ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री गरेको थियो।
कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर विक्री गर्न लागेको हो। यो चरणमा विदेशमा रहेका नेपालीका लागि सार्वजनिक निष्काशनमध्ये १० प्रतिशत बराबरका १ लाख १५ हजार ५९६ कित्ता छुट्याइएको छ। बाँकी सेयर आमसर्वसाधारणका लागि खुला गरिनेछ।
यो आइपिओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
रिलायन्स स्पिनिङले बुक–बिल्डिङ विधिबाट आईपिओ जारी गर्न लागेको हो। योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता नौ सय १२ रूपैयाँ मूल्य निर्धारण गरेका थिए। यो मूल्यभन्दा १० प्रतिशत कम मूल्य अर्थात प्रतिकित्ता आठ सय २० रूपैयाँ ८० पैसा मूल्यमा सर्वसाधारणले आवेदन दिनुपर्ने हुन्छ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ।