सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १० अर्ब रूपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रूपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १ करोड कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १० लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ८२ करोड रूपैयाँ बराबरको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा माघ ४ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ १४ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।