निरन्तर बढ्ने क्रममा रहेको सेयर बजारमा सोमबार भने सामान्य करेक्सन आएको छ।
लगातार बढिरहेको बजारमा लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा करेक्सन आएको हो।
आज नेप्से ३.७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेको हो।
कारोबार रकम भने गत सात महिनाकै उच्च भएको छ।
सोमबार १६ अर्ब ३५ करोड रकमको कारोबार भएको छ। यसअघि २०८२ साउन १४ मा १६ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको थियो।
यसदिन ३३३ वटा धितोपत्रको तीन करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ८८ कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, सात कम्पनी स्थिर छन्।
यसदिन पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
यसैगरी, नेसनल हाइड्रोपावरको मूल्य सर्वाधिक ३.१२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २१४ रूपैयाँमा झरेको छ।
सोमबार हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५०५ रूपैयाँमा ६५ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको २८२ रूपैयाँ २० पैसामा ५६ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले बढेको छ।