अहिले सेयर बजारमा सस्तो सेयरको प्रतिकित्ता मूल्य १८८ रूपैयाँ छ। यो भनेको हिमालयन बैंकको हो।
तर बजारमा एउटै सेयरको ४६ हजार रूपैयाँसम्म पर्ने कम्पनी पनि छन्।
आज हामी सेयर बजारमा सबभन्दा महँगा दुई कम्पनीको चर्चा गर्नेछौं।
यी हुन्, युनिलिभर नेपाल र बोटलर्स तराई (बालाजु)।
मंगलबार युनिलिभर नेपालको सेयर प्रतिकित्ता ४६ हजार ३०० रूपैयाँमा कारोबार भयो। मंगलबार मूल्य ७०० रूपैयाँ घटेको हो।
नियमित सेयर कारोबार नहुने बहुराष्ट्रिय कम्पनी युनिलिभरको पछिल्लो केही महिनायता कारोबार हुने दरमा वृद्धि भएको छ।
रोचक पक्ष के छ भने, नेपाली लगानीकर्ताहरूले लाभांशमा भन्दा बढी जोड बोनस सेयरलाई दिन्छन्। त्यस्ता, कम्पनीलाई बढी मूल्य हाल्न तयार पनि हुन्छन्।
युनिलिभरको सन्दर्भमा भने लगानीकर्ताहरूको फरक मान्यता देखिन्छ। युनिलिभरले सधैं नगद लाभांश दिन्छ। बजारमा रहेका कम्पनीहरूमध्ये सबभन्दा धेरै लाभांश दिने कम्पनी पनि यही हो।
पाँच वर्षयता युनिलिभरले वार्षिक औसत १४०० प्रतिशत नगद लाभांश दिएको छ। आर्थिक वर्ष २०८१–८२ मा यसले १८४२ प्रतिशत लाभांश दिएको थियो।
कम्पनीहरूले अंकित मूल्य (प्रतिकित्ता एक सय रूपैयाँ) को दरमा लाभांश दिन्छन्। त्यसैले सेयर बजारबाट महँगो मूल्यमा यूनिलिभर सेयर किन्नेलाई भने यस्तो लाभांश दर ३.७६ प्रतिशत मात्रै हुन आउँछ।
आर्थिक वर्ष २०८१–८२ को लाभांश समायोजनअघि युनिलिभरको मूल्य ४८ हजार ९०० रूपैयाँ थियो।
अहिलेको मूल्यमा लगानीकर्तालाई १.५ प्रतिशत नोक्सान छ। अहिले बजार घटेको समय हो। त्यसैले पनि पछि मूल्य बढ्ने सम्भावना नकार्न सकिदैन।
यसको हालसम्मको उच्च मूल्य प्रतिकित्ता ५६ हजार ८०५ रूपैयाँ छ।
युनिलिभर नेपालले मंगलबार नै चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमास (साउनदेखि पुससम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ।
दोस्रो त्रैमासमा युनिलिभर नेपालको नाफा ९.८१ प्रतिशतले घटेर ४३ करोड रूपैयाँमा सीमित भएको छ। यसअघि नाफा ४७ करोड ७८ लाख रूपैयाँ थियो।
युनिलिभरको उत्पादन बिक्रीबाट आम्दानी ८.२३ प्रतिशतले घटेर एक अर्ब ८१ करोड रूपैयाँमा सीमित भएको छ। यसअघि एक अर्ब ९८ करोड रूपैयाँ थियो।
यसले बजारबाट उठाउन बाँकी रकम एक अर्ब ३६ करोड रूपैयाँ छ। बजारमा तिर्न बाँकी तीन अर्ब ५४ करोड रूपैयाँ छ। यी दुवै रकम बढ्दो क्रममा छ।
एक अर्ब २३ करोड रूपैयाँ बराबरको उत्पादनको लागि राखिएका कच्चा सामान (इन्भेन्ट्रिज) छ। यो रकम पनि सामान्य बढेको छ।
भारतले वस्तु तथा सेवा कर (जिएसटी) करमा गरेको परिवर्तन, नेपालको आन्दोलन लगायत कारण यसको व्यापारमा असर परेको र आम्दानी घटेको युनिलिभरले उल्लेख गरेको छ।
युनिलिभरमा हिन्दुस्तान युनिलिभरको ८० प्रतिशत, रविभक्त श्रेष्ठको समूह आइजे ग्रुपको ५ प्रतिशत र बाँकी १५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणसँग छ।
यसको चुक्ता पुँजी ९ करोड २१ लाख रूपैयाँ मात्र छ। कम चुक्ता पुँजी भएका कारण धेरै सर्वसाधारणसँग कम्पनीको सेयर छैन।
युनिलिभर नेपालको प्रतिसेयर आम्दानी ४६८ रूपैयाँ र प्रतिसेयर नेटवर्थ ४२१६ रूपैयाँ छ।
त्यस्तै मंगलबार बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य ९ रूपैयाँ बढेर १५ हजार १०१ रूपैयाँमा कारोबार भयो।
केही वर्षअघि यसको मूल्य प्रतिकित्ता २३ हजार ७५६ रूपैयाँसम्म पुगेको थियो।
पाँच वर्षको तथ्यांक हेर्दा बोटलर्स नेपालले पनि हरेक वर्ष नगद लाभांश दिएको छ। पाँच वर्षको औसत लाभांश दर ४५ प्रतिशत छ।
यसमा कोकाकोला साउथवेस्ट एसिया होल्डिङ्सको ७६.१६ प्रतिशत, गोर्खा ब्रुअरीको २२ प्रतिशत र अन्य सेयरधनीको १.८४ प्रतिशतको सेयर स्वामित्व छ। यसको चुक्ता पुँजी १९ करोड रूपैयाँ मात्र छ।
बोटलर्स नेपाल (बालाजु) यहाँको मूल कम्पनी हो भने बोटलर्स नेपाल (तराई) सहायक कम्पनी। यी दुवै कम्पनी नेप्सेमा कारोबार हुन्छन्। बोटलर्स नेपाल (तराई) को पनि सेयर ११ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ।
बोटलर्स नेपाल (बालाजु) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन। पहिलो त्रैमासमा भने यसको नाफा करिब चार गुणा बढेको छ।
यसको नाफा आठ करोड रूपैयाँबाट २८१ प्रतिशतले बढेर ३२ करोड १६ लाख रूपैयाँ पुगेको छ।
यसको उत्पादन बिक्रीबाट भएको आम्दानी २३ प्रतिशतले बढेर तीन अर्ब ६९ करोड रूपैयाँ पुगेको छ।
यसले बजारबाट एक अर्ब २९ करोड रूपैयाँ उठाउन र एक अर्ब २७ करोड रूपैयाँ तिर्न बाँकी छ।
यसको प्रतिसेयर आम्दानी ६०८ रूपैयाँ र प्रतिसेयर नेटवर्थ ३३५० रूपैयाँ छ।
यसको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुँन बाँकी छ।