स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रूपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रूपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ९ करोड ३७ लाख ५० हजार रूपैयाँ बराबरको प्रति सेयर १०० रूपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाको वडा नं. ८ का स्थानीय बासिन्दाहरूलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाको वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिकाको वडा नं. ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं. १ का स्थानीय बासिन्दाहरूलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बिक्री गरिनेछ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९३ लाख ७५ हजार रूपैयाँ बराबरको प्रति सेयर १०० रूपैयाँ अंकित दरका ९३ हजार ७५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आइपिओ बन्द छिटोमा चैत २३ गते हुनेछ भने ढिलोमा वैशाख ८ गते हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २३ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्यअर रेटिङ डबल बी प्लस' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना स्थल, याम्फुदिन, नेपाल बैंकको सिरी जङ्गा शाखा, एनएमबी बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।