धितोपत्र बोर्डमा दुई महिनादेखिको रिक्त अध्यक्ष पदमा परिपूर्ति भए पनि नेप्सेमा सकारात्मक प्रभाव देखिएन।
सरकारले गत साता बोर्ड अध्यक्षमा डा.गोपाल भट्टलाई नियुक्त गरेको थियो।
सोमबार त्यसयताको पहिलो कारोबार हो। तर नेप्से परिसूचक सोमबार १.४६ अंकले घटेको छ।
वास्तवमा धितोपत्र बोर्ड अध्यक्षकै पखाईमा मात्रै सेयर बजार रहेको छैन।
केही सातामा सार्वजनिक हुने राष्ट्र बैंकको मौद्रिक नीतिप्रति लगानीकर्ताहरूले आश गरिरहेका छन्।
त्यसैले केही समय बजारमा सामान्य उतारचढावमा रहने देखिन्छ।
सोमबार नेप्से २७००.६५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
शुक्रबार ४ अर्ब ४० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५३ वटा धितोपत्रको ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
यसदिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरुको प्रतिकित्ता मूल्य ३४५ रूपैयाँ पुगेको छ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ७.३३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८८० रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा नेपाल बैंक डिबेन्चर रहेको छ।
उक्त कम्पनीको मूल्य ३.८७ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १०० रूपैयाँमा झरेको छ
यसैगरी, गार्डियन माइक्रोलाइफको मूल्य ३.०४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २४६ रूपैयाँमा सीमित भएको छ।
सोमबार सोपान फर्मास्युटिकल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार १२० रूपैयाँमा ३७ करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.६६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको एक हजार ४६९ रूपैयाँमा ३० करोड ५१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ।