नेपाल धितोपत्र बोर्डले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।
नेप्सेले प्रदान गरेको टिएसएम चलाइराखेका ७२ कारोबार सदस्य कम्पनीहरू सर्भर राखिएको डेटा सेन्टरमा र्यान्सम एट्याक भएको हो।
डेटा सेन्टर डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएता पनि हालसम्म समाधान भइनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले कारोबार रोकिएको नेप्सेले उल्लेख गरेको थियो।
धितो बोर्डले कारोबार रोक्नुपर्ने अवस्था सिर्जना हुनुको कारण पहिचान गर्न तथा यस्तो घटना आगामी दिनमा दोहोरिन नदिन आवश्यक सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ।
यसैबीच, नेप्सेबाट घटनाबारे जानकारी प्राप्त हुनासाथ बोर्डले प्राविधिक लगायतका समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पत्ता लगाउन उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको जनाएको छ।
बोर्डका अनुसार निरीक्षण टोलीले दिने सुझावका आधारमा नेपालको धितोपत्र बजारलाई आगामी दिनमा स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन थप आवश्यक कार्य अघि बढाइनेछ।