ग्लोबल आइएमई बैंकले स्थापनाको दुई दशक पूरा गरेको अवसरमा २०औं वार्षिक साधारणसभा आगामी असोज १६ गते आयोजना गर्ने भएको छ।
दुई दशकको यात्रामा बैंकले वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल बैंकिङ तथा व्यवसायिक पहुँच विस्तार गर्दै आएको जनाएको छ।
बैंकका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटिएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्।
विदेशमा तीनवटा प्रतिनिधि कार्यालयसमेत रहेका छन्।
विभिन्न सेवा माध्यममार्फत बैंकले १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा दिइरहेको जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७०० अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।
त्यस्तै, कुल कर्जा ४७६ अर्ब ८४ करोड रूपैयाँ र चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रूपैयाँ पुगेको बैंकले जनाएको छ।
उक्त आर्थिक वर्षमा बैंकले ६ अर्ब ३ करोड ६० लाख रूपैयाँ खुद नाफा कमाएको छ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो।
सो अवधिमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले वृद्धि भएको छ।
बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ।
साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ।
डिजिटल बैंकिङमा जोड
ग्लोबल आइएमई बैंकले नयाँ पुस्ताका ग्राहकको बदलिँदो बैंकिङ आवश्यकतालाई सम्बोधन गर्न डिजिटल बैंकिङलाई आफ्नो दीर्घकालीन रणनीतिको प्रमुख हिस्सा बनाएको जनाएको छ।
बैंकले 'ग्लोबल स्मार्ट प्लस' डिजिटल प्लेटफर्मलाई निरन्तर परिस्कृत गर्दै एउटै माध्यमबाट विभिन्न बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउने प्रयास गरिरहेको छ।
प्लेटफर्ममा व्यक्तिगत वित्तीय व्यवस्थापनसम्बन्धी सुविधा थप गरिएको बैंकको भनाइ छ।
डिजिटल प्लेटफर्ममार्फत आइपिओ आवेदनलगायत पुँजी बजारसम्बन्धी सेवामा ग्राहकको पहुँच सहज बनाइएको छ।
डिजिटल फन्ड ट्रान्सफरलगायत दैनिक बैंकिङ कारोबारलाई सहज बनाउने सुविधासमेत विस्तार गरिएको बैंकले जनाएको छ।
कर्पोरेट ग्राहकका लागि डिजिटल बैंकिङ सेवाहरू थप सुदृढ गर्दै वित्तीय कारोबार तथा सेवा व्यवस्थापनलाई डिजिटल माध्यमबाट सहज बनाउने बैंकको योजना छ।
साथै, अनलाइन अकाउन्ट ओपनिङ तथा भिडिओ केवाइसी सुविधा विस्तार गर्ने तयारीसमेत बैंकले गरेको छ।
विदेशमा रहेका नेपालीलाई डिजिटल माध्यमबाट बैंकिङ सेवामा जोड्न 'एनआरएन तथा ओभरसिज बैंकिङ डिपार्टमेन्ट' स्थापना गरिएको बैंकले जनाएको छ।
विदेशमा रहेका ग्राहकको समय क्षेत्रअनुसार सेवा उपलब्ध गराउने उद्देश्यले ओभरसिज बैंकिङ सेवालाई थप संस्थागत गर्ने काम भइरहेको बैंकको भनाइ छ।
नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै नयाँ डिजिटल तथा आधुनिक बचत उत्पादन विस्तार गर्ने योजना पनि बैंकले अघि सारेको छ।
डिजिटल माध्यमबाट बचत, लगानी तथा दैनिक कारोबारमा ग्राहकको सहभागिता बढाउने गरी नयाँ उत्पादन तथा सेवा विकासमा जोड दिइने बैंकले जनाएको छ।
बैंकले शाखाबाहेकका माध्यमबाट सेवा विस्तार गर्न डिजिटल बैंकिङ तथा अन्य वैकल्पिक सेवा माध्यमलाई समेत विस्तार गरिरहेको छ।
आगामी दिनमा डिजिटल ब्रान्च, डिजिटल लेन्डिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल ग्राहक अनबोर्डिङलाई थप विस्तार गर्ने बैंकको रणनीति छ।
बैंकका अनुसार यी पहलमार्फत नयाँ पुस्ताका ग्राहक, डिजिटल कारोबार र व्यवसायिक अवसरलाई एकसाथ विस्तार गर्ने लक्ष्य राखिएको छ।