चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा महँगी बढेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा नेपालमा मूल्यवृद्धि बढेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा बस्तु तथा सेवाको मूल्यवृद्धि अर्थात मुद्रास्फीति ६.४४ प्रतिशत छ। गत वर्षको सोही अवधिमा मुद्रास्फीति ४.६ प्रतिशत थियो।
यो सरकारी लक्ष्यभन्दा बढी हो। सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो। असोजसम्मको वार्षिक विन्दुगत मुद्रस्फ्रीति ६.२१ प्रतिशत छ। गत वर्षको सोही अवधिमा सो दर ४.६८ प्रतिशत थियो।
यस अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य सबैभन्दा बढी ७.०४ प्रतिशतले बढेको देखिएको छ। बैंकका अनुसार पछिल्लो तीन महिनामा तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।
यस्तै, गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ। यस समूहअन्तर्गत घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको देखिएको छ।
क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्य बढेको छ। काठमाडौंमा मात्रै ८.१४ प्रतिशतले मूल्य वृद्धि भएको हो। गत वर्षको असोजसम्ममा उपत्यकाको मुद्रास्फीति ४.०४ प्रतिशत थियो। यस्तै, तराइमा ५.७५, हिमालमा ५.११ प्रतिशतले मूल्य बढेको छ। पहाडको मूल्यबृद्धि ४.८९ प्रतिशत छ।
असोज सम्ममा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । वृहत आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.९५ प्रतिशत, १.६१ प्रतिशत र २.४६ प्रतिशत छ।
बैंकको तथ्याङक अनुसार निर्माण सामाग्रीको थोक मूल्य भने २.४१ प्रतिशतले घटेको छ।