अब उपोभोक्ताले नयाँ खाली सिलिण्डर किन्दा सिलिण्डरको धरौटी स्वरूप २१ सय रूपैयाँ तिर्नुपर्ने छ।
संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो। उक्त निर्णय बुधबारबाट दुर्गमबाहेकका सबै जिल्लामा लागू भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए।
एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको उनको भनाइ छ।
संघले तोकेभन्दा बढी रकम लिएमा गैह्र कानूनी हुने उनको भनाइ छ।
उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको पसलबाट बिल लिनुपर्ने अध्यक्ष भण्डारीले बताए।
उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरकफरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले प्रसंसनीय कार्य भएको बताए।
तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।
अहिले सम्म विक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने उनले बताए।
यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरिएको छैन।