माटाका सामग्रीका लागि पर्यटकीय नगरी भक्तपुरको पोटरी स्क्वायर प्रख्यात छ। माटाको भाँडाकुडा उत्पादन र बिक्रीमा पुरानो मानिने यो क्षेत्रमा बाह्रैमास पाला, दियो, खुत्रुके, मुर्ति, सजावट सामग्री आदी उत्पादन हुन्छ।
तिहार नजिकिँदै जाँदा माटाका दियो र पालाले स्क्वायर भरिभराउ हुन्थ्यो। तिनै सामाग्री हेर्ने, फोटो खिच्ने र सोधखोज गर्ने पर्यटकको भिड लाग्थ्यो। चहलपहल बाक्लो हुन्थ्यो। तर यसवर्ष पोटरी स्क्वारयमा रौनक कम छ। न त स्वदेशी–विदेशी पर्यटक छन्, न त पोहोर झैं बजार माग आएको छ।
तिहार सुरु हुन केही दिन मात्रै बाँकी हुँदा ७६ वर्षिय गणेशभक्त प्रजापति पारिलो घाममा माटाको खुत्रुके सुकाउँदै थिए।
गतवर्षभन्दा पालाको माग आधाले घटेपछि उनले खुत्रुके बनाउने फुर्सद पाएका हुन्। आफूले जानेको काम नै माटोका सामग्री बनाउने भएको हुँदा खाली हात नबसेको उनी बताउँछन्।
‘पोहोर यतिबेला पालाको माग धान्न सकिँदैन थियो,’ डवलीतिर देखाउँदै उनले भने, ‘यो सबै ठाउँमा पाला सुकाइन्थ्यो। यसपाली माग घटेको छ। पाला छैन। मागभन्दा धेरै बनाएर पनि काम छैन।’
उनका अनुसार विगतका वर्षमा पोटरी स्क्वायरबाट मात्रै झण्डै ४ लाख वटा पाला मात्रै विक्रि हुन्थ्यो। यसपाली २ लाख हारहारी कारोबार भएको छ। प्रतिपाला साढे १ रुपैयाँले बिक्री हुँदा स्थानीयले तिहारमा मात्रै ६ लाखको व्यापार गर्दै आएका थिए। यसपाली आम्दानीसमेत आधा भएपछि व्यापारी निराश भएको गणेशभक्त बताउँछन्।
‘विदेशीहरु आउँथे, फोटो खिच्थे। पैसा दिन्थे। यसपाली सबै सुनसान छ। तिहार आएजस्तो भएको छैन,’ उनले अगाडि भने, ‘बरु खुत्रुकेको माग बाह्रैमास आउँछ। फुर्सदमा बनाएर राख्दा पछि सजिलो हुन्छ।’

भक्तपुर नगरपालिका वडा नं ४ मा २ सय २६ प्रजापति परिवार छन्। तिमध्ये ६० परिवार मात्रै यो पेसामा आवद्ध रहेको वडा अध्यक्ष कुमार चावलले बताए।
बत्तिमा आएको विविधताले पाला र माटाको भाँडाकुँडा बनाउनेको संख्या घट्दै गएको उनले जानकारी दिए।
‘माटाका सामग्रीलाई स्टिल र पालाको ठाउँमा बिजुली बत्ती प्रयोग हुन थालेपछि यो क्षेत्रमा काम गर्नेहरुको आकर्षण घट्दै गएको छ,’ वडाअध्यक्ष चावले भन्छन्, ‘साथै माटाका भाँडा बनाउन अहिले कालिमाटीको अभाव छ। ललितपुरको हरिसिद्धिमा पनि माटो सकिन थालिसकेको छ।’
नेपाली पालाको माग घट्नुमा भारतीय उत्पादन मुख्य भएको वडाअध्यक्ष चावलको ठम्याइ छ। नगरपालिका र स्थानीय स्तरमा आन्तरिक उत्पादन प्रवद्र्धन हुन नसकेको उनले बताए।
‘उत्पादनमा जोड दिन नगरपालिकाले माटोका भाँडा पोल्न सामुहिक व्यवस्था गरेको छ। यतिले मात्रै पर्याप्त छैन। अन्य काम पनि हुँदैछ,’ चावलले भने, ‘हामीले स्थानीयसँग सहकार्य गरेरै काम गरिरहेका छौं।’