तीन वर्षअगाडि दुई जना साथी हेमराज दंगाल र प्रशान्त शर्मा सँगै एमबिए पढिरहेका थिए। पढ्दै गर्दा उनीहरूले शाकाहारी रेस्टुरेन्ट खोल्ने विचार गरे। तर उनीहरूलाई यो काम नौलो तरिकामा गर्नु थियो।
शाकाहारी रेस्टुरेन्ट थुप्रै भएकाले उनीहरूलाई के गर्ने त भन्ने भयो। काम गर्ने मन भए पनि आइडिया कसैलाई फुरेको थिएन।
उनीहरूले आफैंलाई मनपर्ने परिकारबारे सोच्दै नयाँपन ल्याउन सकिन्छ कि भन्ने सोचे।
हेमराजलाई चकलेट धेरै मनपर्ने। यहाँका रेस्टुरेन्टहरू चहार्दै, बुझ्दै गर्दा उनले चकलेटका परिकार धेरै पाएनन्।
'साथीहरूले विदेशबाट ल्याउने चकलेट यहाँ पाइनेभन्दा फरक स्वादका हुन्थे। ती चकलेट खाँदा बेग्लै आनन्द लाग्ने। यहाँ केही क्याफेमा चकलेटका नाममा हट चकलेट मात्र पाइन्थ्यो। त्यो पनि त्यति स्वादिलो नलाग्ने,' हेमराजले चकलेटकै स्वादमा क्याफेको आइडिया निकाल्न खोजे।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/Anusha%20Adhikari/chocolate%20wheels%20(2).jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/Anusha%20Adhikari/chocolate%20wheels%20%281%29.jpg)
चकलेट क्याफे खोल्ने आइडिया आफ्नो साथी प्रशान्तलाई सुनाए।
दुवै जना उत्साहित भए। तर यसबारे कसैलाई धेरै ज्ञान थिएन। स्वादले मात्र क्याफे खुल्दैन, त्यसैले केही जानकारी लिने उनीहरूले निधो गरे।
चकलेट क्याफे कसरी सञ्चालनमा ल्याउन सकिन्छ भनेर बुझ्न उनीहरूले भारतीय बजार रोजे। त्यहाँको चकलेट ट्रेन्ड पछ्याए।
त्यहाँ उनीहरूले 'द चकलेट रूम' नामक क्याफे भेट्टाए। त्यो क्याफे र त्यसको अवधारणा दुवै साथीलाई मनपर्यो। नेपालमा पनि चकलेट क्याफे खोल्ने निधो गर्दै फर्किएका उनीहरूले दुई वर्षअगाडि बौद्धमा 'चकलेट ह्वील्स' सञ्चालनमा ल्याए।
'चकलेट ह्वील्स नेपालको पहिलो डेजर्ट क्याफे हो,' सह–सञ्चालक हेमराज दावी गर्दै भन्छन्।
उनले थपे, 'यसको नाममा विशेष केही छैन। हामीले गफ गर्दागर्दै फुराएको हो। हाम्रो क्याफेमा पाइने चकलेटका परिकार भने ग्राहकलाई मनपर्ने पक्ष हो।'
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/Anusha%20Adhikari/chocolate%20wheels%20(3).jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/Anusha%20Adhikari/chocolate%20wheels%20(4).jpg)
यहाँ पाइने चकलेटका विशेष परिकारहरू वाफल वीथ चकलेट, फ्रुट्स, आइसक्रिम, रेड भेल्भेट वाफल एन्ड आइसक्रिम, फन्ड्यू पट तथा थुप्रै स्वादका चकलेट 'शेक' हरू हुन्। यहाँको मेनुमा हट चकलेट र विभिन्न स्वादका कफी पनि समावेश छन्।
फन्ड्यू पट तीन वटा कचौरामा आउँछ, जसमा एउटामा चकलेटको झोल, अर्कोमा फलफूल, अनि चकलेट र केक हुन्छ। हामीले चकलेट, फलफूल, र केक चकलेटकै झोलमा डुबाउँदै खाने हो।
यसैगरी 'सेल्फीचिनो' चकलेट ह्वील्सले ल्याएको नयाँ स्वाद भएको हेमराज बताउँछन्। उनका अनुसार यसमा ग्राहकले चकलेट शेक वा कफीमा आफ्नो फोटो प्रिन्ट गर्न सक्छन्। यस्तो तरिका अन्य क्याफेमा नभएको हेमराजको भनाइ छ।
चकलेट ह्वील्समा पाइने केही परिकार प्रायः नेपालमा नपाइने पनि हेमराज बताउँछन्। कतिपय परिकार विदेशका चकलेट ट्रेन्डबाट पनि प्रभावित छन्। यहाँ पाइने परिकारको मूल्य दुई सयदेखि सात सय रूपैयाँसम्म पर्छ।
हेमराज भन्छन्, 'चकलेट यसै पनि अरू परिकारभन्दा महँगो हुन्छ। हाम्रा ग्राहक धेरैजसो युवापुस्ता हुनुहुन्छ। त्यसैले सकेसम्म उहाँहरूको बजेट अनुसार मूल्य तोकेका छौं।'
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/Anusha%20Adhikari/chocolate%20wheels%20(5).jpg)
उनका अनुसार मानिसमा चकलेटको क्रेज धेरै भए पनि महँगो भएकै कारण खाने चलन भने बढ्दो छैन।
'क्याफे सञ्चालन गरेको पहिलो ६ महिना व्यवसाय अघि बढाउनै समस्या परेको थियो। विस्तारै सामाजिक सञ्जालबाट थाहा पाएर ग्राहक आउन थाले,' उनी भन्छन्, 'लकडाउनका बेला कयौं महिना व्यापार ठप्प भयो।'
चकलेट ह्वील्सको कमाइले मात्रै आर्थिक स्थिति धान्न दुई जना सह–सञ्चालकलाई हम्मे पर्छ। त्यसैले यसबाहेक सबैजना अन्य काममा पनि आवद्ध छन्।
अन्तै जागिरे भए पनि चकलेट ह्वील्स हेमराज र प्रशान्तका लागि निकै प्यारो छ।
उनीहरूका अनुसार आर्थिक स्थिति अप्ठ्यारोमा परेका बेला पनि ग्राहकको माग पूरा गर्न चकलेट ह्वील्स बन्द गरेनन्। अब अझै धेरै नयाँ मीठा परिकार थपेर यसलाई अगाडि बढाउने योजना उनीहरूले बनाएका छन्।
चकलेट ह्वील्सबारे अझै धेरै जानकारी पाउन भिडिओ हेर्नुस्ः