लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा नामक पाँचतारे होटल सञ्चालन गर्ने भएको छ।
यो म्यारियट इन्टरनेसनलको काठमाडौं बाहिरको पहिलो र एकमात्र उपस्थिति हुने रिसोर्टले बताएको छ।
रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायत उच्च पदाधिकारीहरू तथा म्यारियट इन्टरनेशनलका वरिष्ठ अधिकारीहरू नीरज गोभिल, किरण एन्डिकट, जुही रोयको उपस्थितिमा होटल व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।
नयाँ रिसोर्टमा आधुनिक जलप्रदर्शन, संगीतसहितका फाउन्टेन, मोटर बोटिङ, मिनी क्रुज, जल रेस्टुरेन्ट, जल स्पा र अन्य धेरै जलक्रियाकलाप उपलब्ध हुनेछन्।
यसलाई नेपालको पहिलो सुनौलो हरित प्रमाणपत्रसहितको वेलनेस र इको रिसोर्ट र अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट बनाउने योजना छ।
खेलकुद प्रवर्द्धनका लागि नेपालकै पहिलो मल्टी–स्पेशालिटी रिसोर्ट बनाइनेछ। सांस्कृतिक पर्यटनका लागि बुद्ध थीम पार्क, मिनी स्तुपा, मिनी बुद्धा संग्रहालय, ध्यान स्थल र सांस्कृतिक केन्द्रहरू पनि रहनेछन्।
रिसोर्ट पूर्ण सञ्चालनमा आएपछि जल, इको, वेलनेस, खेलकुद र सांस्कृतिक पर्यटनका लागि अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ। व्यवस्थापन प्रमुखको रूपमा विजयानमारन सनमुगम नियुक्त भइसकेका छन्।
स्थानीय रोजगारी, उत्पादन र पर्यटन प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित रिसोर्टले आइपिओको तयारी पनि अघि बढाएको बताएको छ।