नेपाल चिनी उद्योग संघले खुला सीमाबाट हुने अनाधिकृत चिनी आयात रोक्न सरकारले कदम चालेको भन्दै स्वागत गरेको छ।
हालै सरकारले स्थलमार्गबाट सय रूपैयाँभन्दा धेरैको सामान ल्याउनलाई भन्सार लाग्ने नियममा कडाइ गरेको छ।
संघले यसलाई स्वदेशी उत्पादन र उद्योग संरक्षणतर्फ सकारात्मक नीतिका रूपमा लिएको जनाएको छ।
खुला सीमाका कारण लामो समयदेखि कर नतिरी भित्रिने चिनीले आन्तरिक बजार प्रभावित बनाइरहेको गुनासो चिनी उत्पादकको थियो।
कडाइपछि अनाधिकृत आयात घट्ने र स्वदेशी उत्पादनले उचित बजार पाउने विश्वास गरिएको छ।
संघका अनुसार हाल सञ्चालनमा रहेको १३ वटा चिनी उद्योगमा करिब ६० हजार उखु किसान परिवार र दैनिक ५० हजारभन्दा बढी श्रमिक यस क्षेत्रसँग जोडिएका छन्।
अनियन्त्रित आयातका कारण उद्योगहरूलाई बिक्रीमा समस्या भइ किसानलाई समयमै भुक्तानी दिन कठिन भएको पनि संघको भनाइ छ।
भन्सार कडाइसँगै कर छली नियन्त्रण हुने, उद्योगको उत्पादन बिक्री सहज हुने र किसान, उद्योग तथा बैंकिङ क्षेत्र सबैलाई राहत पुग्ने बताइएको छ।
यस्तो व्यवस्था दीर्घकालीन रूपमा निरन्तरता दिन संघले विज्ञप्तिमार्फत सरकारलाई आग्रह गरेको छ।
संघले 'पहिले स्वदेशी उत्पादन' अभियानलाई बलियो बनाउन सबै उपभोक्तालाई स्वदेशी वस्तु प्रयोग गर्न समेत आग्रह गरेको छ।