नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलंकामा आफ्नो सेवा विस्तार गरेको छ ।
यसक्रमा श्रीलंकामा इफेक्टिभ सोलुशनसँग व्यवसाहिक सञ्चार प्रणालीका लागि एआइमा आधारित सेवा दिने सम्झौता गरेको छ।
इफेक्टिभ सोलुशनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधिहरू प्रयोग गर्न चाहनेलाई सेवा दिॅंदै आएको छ।
यो कम्पनी ट्रेस नामक श्रीलंकाको सार्वजनिक संस्थामा सूचीकृत छ।
ट्रेसले श्रीलंकामा नयाँ व्यवसाय, आविस्कार र उद्यम गर्न चाहनेहरूलाई सहयोग गर्छ।
टिङटिङले श्रीलंकामा कार्यालय स्थापना गरेर त्यहाँका ग्राहकहरूलाई सेवा दिने योजना अगाडि बढाइसकेको छ।
टिङटिङले नेपालमा बैंक, बीमा प्रदायक संस्था, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै गएको छ।
टिङटिङका सिइओ मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको बताए।
‘हामी विश्वव्यापी रबपमा आफूलाई विस्तार गर्ने योजना बनाइरहेका छौं। यो त्यही अभियानको एउटा पाइला हो। सरकारले नेपालबाट आइटी र प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने सोच बनाएको छ। नेपालको प्रतिनिधित्व गरेर सेवा विस्तार गर्न पाउँदा हामीलाई गर्व पनि लागेको छ। नेपालमा रोजागरी सिर्जनाका लागि आइटी र प्रविधि क्षेत्रको विस्तार जरुरी छ,' शर्माले भने।
इफेक्टिभ सोलुशन्सका निर्देशक हमिन्दा जयवेराले एआइमा आधारित सेवा तथा समाधान उपलब्ध गराउने नेपाली कम्पनीसँग सहकार्य गर्न पाउनु खुसीको विषय रहेको बताए।
यस सहकार्यले श्रीलंकाका उद्यमी र सेवा प्रदायकहरूलाई ठूलो लाभ मिल्ने उनले बताए।