चिया निर्यातमा देखिएको अवरोध अन्त्य गर्न कूटनीतिक पहल भइरहेको सरकारले दाबी गरेको भोलिपल्टै थप ३० वटा चिया उद्योग र सयौं चिया बगान पनि बन्द भएका छन्।
नेपालबाट भारतीय बजारमा पुगेका तयारी चिया प्रयोगशाला परीक्षणको बहानामा एक महिनाभन्दा बढी समयदेखि गोदाममा थन्किएका छन्। यही समस्याका कारण निर्यात ठप्प भएपछि चिया उद्योग र बगानहरू बन्द भएका हुन्।
असार १ देखि इलामका ७३ भन्दा बढी उद्योग र सयौं चिया बगान बन्द छन्। बिहीबारबाट झापाका पनि उद्योग र बगान बन्द भएपछि नेपालको चिया क्षेत्र पूर्ण रूपमा ठप्प बन्न पुगेको हो।
यही सन्दर्भमा सरकारले अवरोध खुलाउन पहल गरिरहेको दाबी आइरहेका बेला सरोकारवाला निकाय भने यसबारे पूर्णतः बेखबर छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल गरिरहेको दाबी गरेकी थिइन्।
चिया मात्रै नभई अन्य कृषिवस्तुहरूको बजारको समस्या समाधानको पनि पहल भइरहेको उनको दाबी थियो।
मन्त्रीले संसदबाट यस्तो दाबी गरेको भोलिपल्ट अर्थात बिहीबारबाट झापाका चिया उद्योग र बगानहरू पनि बन्द भएका छन्। यो सँगै ६५ हजार हाराहारी कामदारहरुको रोजीरोटी संकटमा परेको छ।
‘बिहीबारबाट झापाका ३० भन्दा बढी उद्योग र सयौं चिया बगानहरू पनि बन्द भएपछि अब नेपालको चिया क्षेत्र पूर्ण रूपमा ठप्प बन्न पुगेको छ,’ नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भने, ‘नेपालको चिया क्षेत्रको मुख्य थलो नै झापा र इलाम हो। यहाँ हरियो पत्ती टिप्ने, चिया प्रशोधन र प्याकेजिङका सबै काम ठप्प भएको छ।’
मन्त्री गौरीकुमारीले संसदमा कूटनीतिक पहल भइरहेको दाबी गरिरहँदा चिया सम्बद्ध सरकारी निकायहरू नै यसबारे भने बेखबर देखिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यस विषयमा विशेष छलफल भइरहेको जानकारी आफूले पाएको बताए। तर, के भइरहेको छ भन्नेबारे आफू जानकार नभएको उनको भनाइ छ।
‘पहिले केही समाधानतर्फ गएको जस्तो देखिएको थियो। तर फेरि उद्योग बन्द हुने अवस्था आएपछि विषयले ठूलो प्राथमिकता पाएको छ,’ उनले सेतोपाटीसँग भने ‘प्रधानमन्त्री कार्यालयले गम्भीरतापूर्वक लिएको छ भन्ने जानकारी छ।’
यसबारे भारतसँग भएको संवाद, कूटनीतिक पहलको अवस्था वा सम्भावित निकासबारे भने उनले स्पष्ट जानकारी दिन सकेनन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले पनि प्रधानमन्त्री कार्यालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय र चिया तथा कफी विकास बोर्ड समस्या समाधानका लागि सक्रिय रहेको बताए। तर अहिलेसम्म कुनै ठोस उपलब्धि हात नलागेको स्वीकार गरे।
‘सरकार पूर्ण रूपमा जानकार छ। प्रधानमन्त्री कार्यालयमा व्यवसायीहरूसँग छलफल पनि भएको छ,’ उनले भने, ‘अहिले तत्काल उद्योग कसरी खुलाउने र दीर्घकालीन समाधान कसरी निकाल्ने भन्ने दुई तहमा छलफल भइरहेको छ। म आफै छलफलमा सहभागी नभएकाले थप जानकारी चाहिँ भएन।’
सरकारी निकायहरूले समाधान खोजिरहेको बताइरहेका बेला उद्योगीहरू भने परिणाम नदेखिएको गुनासो गर्छन्।
उद्योगीहरूका अनुसार भारतीय टी बोर्डले लागू गरेको नयाँ प्रक्रियागत व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको हो। भारत पुगेपछि चियालाई गोदाममा राख्ने, नमूना परीक्षण गर्ने र प्रतिवेदन नआएसम्म बिक्री गर्न नदिने व्यवस्थाले व्यापारिक चक्र नै भत्किएको उनीहरूको भनाइ छ।
यसको असर अब उद्योगमा मात्र सीमित छैन। चिया बगानसम्मै पुगिसकेको छ।
मुख्य सिजनका बेला उद्योग बन्द भएपछि किसानहरूले हरियो पत्ती टिप्न रोक्न थालेका छन्। इलाम र झापाका हजारौं किसानको उत्पादन बारीमै खेर जाने जोखिम बढेको छ। दैनिक ज्यालामा निर्भर मजदुरहरूको आम्दानी रोकिएको छ।
सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूका अनुसार झापाको पनि चिया क्षेत्र बन्द भएसँगै समग्र चिया क्षेत्रलाई ठप्प पारेको छ।
‘हामीले अहिलेसम्म सरकारबाट कुनै आश्वासन वा पहलको जानकारी पाएका छैनौं,’ उनले भने।
अहिले इलामबाट निर्यात गरिएको करिब दुई लाख ५० हजार किलो अर्थोडक्स चिया भारततर्फका गोदाममा रोकिएको छ। सिटिसी चिया जोड्दा यो परिमाण तीन लाख किलोभन्दा बढी पुग्छ। नेपालभित्रका उद्योगहरूमा थप १० देखि १५ लाख किलो तयारी चिया थन्किएको छ।
नेपालमा हाल २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। वार्षिक साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने चिया क्षेत्र अहिले निर्यात अवरोधका कारण गम्भीर संकटमा छ।
उद्योगीहरुका अनुसार चिया क्षेत्रको संकट झन् गहिरिँदै जाँदा पनि सरकारका तर्फबाट सुनिने एउटै वाक्य छ—छलफल भइरहेको छ, पहल जारी छ।
‘उद्योग बन्द भइसकेका छन्, किसानको पत्ती बारीमै छिप्पिन थालेका छन्। मजदुरको रोजीरोटी संकटमा परेको छ,’ उद्योगी आदित्य पराजुलीले भने, ‘सरकार पहल जारी छ भन्न छाड्दैन। समाधान कहिले निस्कन्छ भन्ने प्रश्न अझै अनुत्तरित नै छ।’