प्रधानमन्त्री कार्यालयले ‘चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन’ दिएपछि चिया क्षेत्र पुनः खुलेको छ।
नेपालबाट भारत पुगेका तयारी चियाको प्रयोगशाला परीक्षणको बहानामा भारतीय पक्षले अवरोध गरेपछि ३ लाख केजी हाराहारी चिया भारतीय गोदाममा थन्किएको थियो।
१० लाख केजीभन्दा बढी नेपालकै गोदाममा थन्किएको भन्दै इलामका उद्योगीले असार १ देखि र झापाका उद्योगीले असार ४ देखि उद्योग बन्द गरेका थिए।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले प्रधानमन्त्री कार्यालयले यथाशीघ्र कूटनीतिक पहल गर्ने र विद्यमान समस्या समाधानमा चासो देखाउने बताएपछि सबै उद्योगहरू खुला भएको जानकारी दिए।
‘आज फाटफुट उद्योगहरू खुला भए,’ बिहीबार साँझ गुप्ताले भने, ‘शुक्रबारदेखि झापा, इलाम सहित पूर्वका सबै उद्योगहरू खुल्नेछन्। बगानहरूमा पनि काम यथावत हुनेछ।’
केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयका तर्फबाट प्रधानमन्त्री बालेन शाहकी प्रेस सल्लाहकार दीपा दाहालले चिया समस्या समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेको सार्वजनिक गरेकी थिइन्।
‘नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ,’ दाहालले सामाजिक सन्जालमा लेखेकी थिइन्, ‘कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझाव सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।’
दाहालका अनुसार कार्यदलको संयोजकत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवले गर्ने र कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरूको प्रतिनिधित्व रहेको छ।
त्यस्तै, भन्सार विभागका उप–महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक, र द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उप–सचिव पनि सदस्यका रूपमा रहेका छन्। कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई तोकिएको दाहालले उल्लेख गरेकी थिइन्।
उद्योगीहरूले सरकारको यही कदमबाट आश्वस्त हुँदै चिया क्षेत्र खुलेको बताएका छन्।
‘हामी हाललाई सरकारको यस कदमप्रति आश्वस्त हुँदै, चिया बगानमा किसानहरूको हरियो चियापत्ति हुर्कंदै गएको संवेदनशील अवस्था, र चिया मजदुरहरूको दैनिक गुजारामा परेको प्रत्यक्ष असरलाई मध्यनजर राख्दै, उद्योगहरू सधैंका लागि बन्द गरिरहनु उपयुक्त नहुने ठहर संघले गरेको छ,’ वरिष्ठ उपाध्यक्ष गुप्ताले भने, ‘अतः सरकारको सकारात्मक पहललाई सम्मान गर्दै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको छ।’
यसबीचमा झापा, इलामसहित पूर्वका ९९ चिया उद्योग बन्द थिए। उद्योगहरु बन्द भएपछि साना र ठूला गरी सय भन्दा बढी चिया बगानमा पनि काम ठप्प थियो।
यसअघि प्रधानमन्त्री बालेन शाहसँग भेटका लागि प्रयास गरेका उद्योगीहरूले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन्।
उनको सचिवालयका केही सदस्यसँग भने उद्योगीहरूले भेटेका थिए। त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले भारत चिया नजाने अवस्था भए अरू के विकल्प हुनसक्छ विकल्प पेस गर्न उद्योगीहरूलाई भनेका थिए।