मोरङको बेलबारी ९, डाँगीहाटमा सञ्चालित आरजू राइस मिलले चैते धानको न्यूनतम समर्थन मूल्य परिमार्जन गर्दै प्रतिकिलो २८ रूपैयाँ ९७ पैसा कायम गरेको छ।
यसअघि गत पुस २२ गते मिलले हल्दिनाथ ६ प्रजातिको चैते धानको मूल्य चिस्यानको आधारमा प्रतिकेजी २५ देखि २७ रूपैयाँसम्म निर्धारण गरेको थियो।
हालै सरकारले चैते धानको सरकारी दररेट प्रतिकिलो २८ रुपैयाँ ५८ पैसा तोकेपछि मिलले दोस्रो पटक मूल्य बढाएर नयाँ दर कायम गरेको हो। यो मूल्य सरकारीभन्दा ३९ पैसा बढी हो।
धानको बीउ छर्नुअगावै आरजू राइस मिलले आफ्नो समर्थन मूल्य सार्वजनिक गरिसकेको थियो भने सरकारले केही हप्ता अघि मात्रै यस्तो मूल्य तोकेको हो।
बजारको उतारचढाव हेरेर समर्थन मूल्यमा थपघट हुन सक्ने जानकारी मिलले किसानहरूलाई पहिले नै गराउँदै आएको थियो।
सरकारले २५ प्रतिशत चिस्यान भएको धानको मूल्य २८ रुपैयाँ ५८ पैसा निर्धारण गरे पनि बजारमा त्यो मूल्य दिलाउने संयन्त्र नहुँदा कृषकहरू अलमलमा परेका छन्।
आरजू राइस मिलले किसानको सल्लाह र हितअनुसार नै काम गरिरहेको उद्योगका महाप्रबन्धक विवेकानन्द झाले बताए।
उनका अनुसार मिलले हाल २५ सय बिघा क्षेत्रफलमा आबद्ध २५ सय जना किसानको धान खरिद गर्दै आएको छ। मिललाई वार्षिक रूपमा वर्षे धान १५ हजार टन र चैते धान १० हजार टन आवश्यक पर्ने झाले जानकारी दिए।
यो उद्योगले कृषकहरूलाई आवश्यक पर्ने धानको बीउ र अत्याधुनिक कृषि औजार प्रयोगमा समेत सहयोग पुर्याउँदै आएको छ। किसान समूहहरूमार्फत धान रोप्नेदेखि कटानी गर्नेसम्मका मेसिनरी सामग्रीहरू मिलले सहुलियत दरमा उपलब्ध गराउने गरेको छ।
उद्योगका कम्युनिकेसन अधिकृत दीपेन्द्र कर्णका अनुसार मिलले आफ्ना आबद्ध किसानहरूको सबै तथ्याङ्क कम्प्युटर सफ्टवेयरमा सुरक्षित राखेको छ।
यसले गर्दा कुन किसानले कति वर्ष पहिले कति परिमाणमा धान बेचेका थिए र मिलबाट कुन बीउ लगेका थिए भन्ने स्पष्ट विवरण हेर्न सकिन्छ। यो प्रणालीले किसानहरूलाई आफ्नो उत्पादनको मूल्य तुलना गर्न र कारोबार पारदर्शी बनाउन सजिलो भएको कर्णले बताए।
यसैगरी, सरकारले २५ प्रतिशत चिस्यान भएको धानको मात्र समर्थन मूल्य तोकेको भए पनि हाल बजारमा आउने धानमा १८ देखि २२ प्रतिशत मात्र चिस्यान रहने गरेको छ। मिलले सोही कम चिस्यानको अनुपातअनुसार किसानलाई थप उचित मूल्य प्रदान गरिरहेको जानकारीसमेत कर्णले दिएका छन्।