भारतले फेरि एकपटक नेपालको चिया क्षेत्रलाई राहत पुग्नेगरी नयाँ निर्णय गरेको छ।
नेपालबाट तयारी चिया बोकेर भारत पुगेका प्रत्येक गाडीबाट चियाको नमूना संकलन गर्ने र प्रयोगशाला परीक्षणको रिपोर्ट आएपछि मात्रै बिक्री अनुमति दिने नीति भारतले अख्तियार गरेको थियो।
भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (फसाइ) ले जुन २३ (असार ९ गते मंगलबार) मा मातहतका विभिन्न निकायलाई पत्राचार गर्दै अबदेखि भारत आयात हुने चिया बोकेका गाडीहरूमध्ये र्यान्डम रूपमा २० प्रतिशतको मात्रै नमूना परीक्षण गर्न निर्देशन दिएको छ।
भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणको यो निर्णयले नेपाली पक्षलाई पहिलेभन्दा केही राहत दिएको भन्दै चिया निर्यातकर्ता उद्योगीहरूले आशा जागेको प्रतिक्रिया दिएका छन्।
‘चियाका शतप्रतिशत गाडीको नमूना परीक्षण गर्नुपर्ने व्यवस्था कडाइपूर्वक कार्यान्वयन गरिरहेको भारतीय पक्षले अब र्यान्डम रूपमा २० प्रतिशत मात्रै जाँच गर्ने निर्णय लिनुलाई हामीले सकारात्मक मानेका छौं,’ नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले सेतोपाटीसँग भने, ‘२० प्रतिशत जाँच हुनुको अर्थ अब एक पटकको नमूना परीक्षणबाट पाँच गाडी चिया जान पाउने अवस्था हुन्छ।’
प्राधिकरणको यो निर्णय र निर्देशनलाई भारतीय टि बोर्डले कार्यान्वयनमा कसरी लैजान्छ भन्ने हेर्न भने बाँकी नै छ। पछिल्लो डेढ महिनाका बीचमा भारतले नेपाली पक्षलाई आशावादी तुल्याउने गरी चिया आयात प्रक्रिया खुकुलो बनाउने निर्णय गरेको यो दोस्रोपटक हो।
पहिलोपटक गएको मे १९ ( जेठ ५ गते मंगलबार) पनि भारतीय पक्षले यस्तै निर्णय गरेको जनाएको थियो। भारतको आन्तरिक प्रयोजनका लागि आयात हुने चियाको र्यान्डम परीक्षण मात्रै गर्ने भन्दै पत्राचार गरेपछि नेपालबाट चिया भारत जान थालेको थियो।
भारतीय टि बोर्डले ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा संशोधन गरेको सूचना जारी गरेपछि १९ दिन लामो अवरोधपछि बल्ल चिया भारत जान थालेको थियो। तर, सूचना त्यसरी जारी गरे पनि भारतीय टि बोर्डले सीमा नाका र कोलकाताको गोदामबाटै पनि प्रत्येक गाडीबाट नमूना संकलन गरेर परीक्षणका लागि पठाउन थालेको थियो।
हप्तौंसम्म परीक्षण प्रतिवेदन नदिने भारतीय शैलीले दुःख पाएको भन्दै असार १ देखि इलामका र असार ४ देखि झापाका उद्योगहरू बन्द नै भएका थिए। प्रधानमन्त्री कार्यालयले अवरोध हटाउन पहल गर्ने भनेपछि बिहीबारबाट उद्योगहरू सुचारू भएका थिए।
भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले गरेको पछिल्लो परिपत्र अनुसार भारतले आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्था संशोधन गरेको छ।
अब जोखिममा आधारित प्रणालीअन्तर्गत २० प्रतिशत खेपको मात्रै अनियमित परीक्षण गर्ने निर्णय गरेको छ।
प्राधिकरण (फसाइ) ले जुन २३ (असार ९) मा जारी गरेको गोप्य तथा अति जरूरी पत्रमार्फत उक्त व्यवस्था तत्काल लागू भएको जनाएको छ।
प्राधिकरणका अनुसार अनुसार जुन १६ मा वाणिज्य सचिवको अध्यक्षतामा बसेको बैठकले आन्तरिक उपभोगका लागि आयात हुने चियाको परीक्षण प्रणाली पुनरावलोकन गर्दै जोखिममा आधारित परीक्षण अपनाउने निर्णय गरेको थियो।
प्राधिकरणका अनुसार नयाँ व्यवस्था भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण का कर्मचारी रहेका वा नरहेका सबै प्रवेश नाकाहरूमा समान रूपमा लागू हुनेछ।
‘सम्बन्धित निकायलाई तत्काल नयाँ व्यवस्था कार्यान्वयन गरी त्यसको जानकारी प्राधिकरणलाई गराउन ’ परिपत्रमा निर्देशन दिइएको छ।
भारत नेपालको सबैभन्दा ठूलो चिया निर्यात हुने अन्तर्राष्ट्रिय बजार हो। पछिल्लो समय भारतले नेपाली चियाको आयातमा कडाइ गर्दै प्रत्येक खेप को प्रयोगशाला परीक्षण अनिवार्य गर्दा नाकामा हप्तौँ ढिलाइ हुने गरेको थियो। यसले गर्दा चियाको गुणस्तर बिग्रिने र प्रशासनिक लागत बढ्ने भन्दै नेपाली चिया उद्योगीले लगातार गुनासो गर्दै आएका थिए।
पछिल्लो दुई सातायता त कोलकाताका गोदाममै नेपालबाट पुगेका ३ लाख केजी चिया परीक्षणका बहानामा थन्किएका थिए।
चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार अब नयाँ व्यवस्थाअनुसार नमूना संकलनको सबै काम सीमा नाकामै सम्पन्न हुनेछ।
‘अहिले जसरी गोदामबाट नमूना संकलन हुन्न भन्ने प्राधिकरणको निर्देशनबाट बुझिन्छ,’ उनले भने ‘अब जोखिममा आधारित प्रणाली लागू भई २० प्रतिशत खेपमा मात्रै परीक्षण हुने भएकाले सीमा नाकामा हुने ढिलाइ कम हुने, चिया छिटो भित्रिने र नेपाली चिया निर्यातमा देखिएको अवरोध केही हदसम्म सहज हुने अपेक्षा गरौं।’
उद्योगीहरू पूरै ढुक्क भने भएका छैनन्।
‘अब टि बोर्डको कदम कस्तो हुन्छ त्यसपछि भारतीय रवैया थाहा हुनेछ,’ गुप्ताले भने, ‘हामी अब सोमबार गाडी पठाउँदैछौं। त्यसमा कस्तो रेस्पोन्स आउँछ अनि भारतीय निर्णयको परीक्षा हुनेछ।’
भारतले गरेको पछिल्लो निर्णयमा नेपालको नाम भने कतै उल्लेख गरेको छैन। यो व्यवस्था भारतमा आयात हुने सबै चियामा समान रूपमा लागू हुने जनाइएको छ।
नेपालमा अहिले साना ठूला गरी १२० हाराहारी चिया उद्योग छन्। त्यस्तै, १०० भन्दा बढी साना–मझौला उद्यमी सक्रिय छन्, जहाँ किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाएका छन्।
अघिल्लो वर्ष मात्रै सिटिसी र अर्थोडक्स गरी कुल ४ अर्ब ७५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएको थियो।
हाल नेपालभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। नेपाली चियाको मुख्य बजार भारत नै हो, जहाँ ९० प्रतिशत अर्थोडक्स र झन्डै आधा सिटिसी चिया जाने गर्छ।