पेट्रोल र डिजेलको भाउ घटेपछि निजी पम्पहरूले बुधबार कारोबार बन्द गरेको गुनासोपछि सरकारले आकस्मिक बजार अनुगमन गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र आयल निगमको टोलीले संयुक्त रूपमा आकस्मिक अनुगमन गरेको हो।
निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १०० रूपैयाँ मूल्य घटाएको थियो।
त्यसलगत्तै बुधबार बिहानदेखि काठमाडौंका थुप्रै निजी पम्प बन्द देखिएका थिए। निजी पम्पहरू बन्द भएपछि भद्रकालीस्थित सेनाको पम्पमा उपभोक्ताको लाम लागेको थियो।
बजार अनुगमनका गएका विभागका निर्देशक अनिल किरातीका अनुसार ५ वटा पम्प अनुगमन गर्दा चारवटा बन्द रहेको पाइएको थियो। एउटा पम्प भने खुल्लै थियो। पेट्रोलियम पदार्थ बिक्री पनि भइरहेको थियो।
'बन्द रहेका चारवटा पम्पले पनि तेल लुकाएका भने होइनन्। हामीले अनुगमन गर्दा त्यहाँ तेल नै स्टक नभएको पायौं,' निर्देशक किरातीले भने।
आयल निगमले मंगलबार माग भएजति तेल बिक्री गरेको थिएन। ती चार पम्पले पनि मागेजति पेट्रोल नपाएकाले स्टक सकिएको किरातीले बताएका छन्।
'तेल नभएर नै पम्प बन्द गरिएको रहेछ, अरू कुनै कारण होइन रहेछ,' उनले भने, 'त्यसैले ती पम्पलाई कुनै कारबाही गरिएन।'
पेट्रोलियम डिलर्स व्यवसायीहरूले पनि पेट्रोल स्टक नभएकै कारण काठमाडौं उपत्यका बाहिरका केही क्षेत्रमा पम्प बन्द भएको बताएका छन्। अहिले साँझसम्म धेरै पम्प खुलिसकेको उनीहरूले जानकारी दिए।