नेपाली कफीको उत्पादन, बजारीकरण र ब्रान्ड प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा शनिबार नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कपिङ च्याम्पियनसिप आयोजना हुँदैछ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।
बोर्डका क्षेत्रीय निर्देशक चन्द्र पुरीले पोखरा नेपाली कफीको हब बन्दै गएको बताए। नेपाली कफीको विशिष्ट पहिचान, गुणस्तर र उत्कृष्ट स्वादलाई प्रवर्द्धन गर्न उक्त कार्यक्रमले सहयोग गर्ने पुरीले बताए।
नेपालमा हाल ४३ जिल्लामा कफी खेती विस्तार भइसकेको छ भने ३० हजारभन्दा बढी किसान यस व्यवसायमा आबद्ध छन्। आर्थिक वर्ष २०८१/८२ मा ५,५०१ हेक्टर क्षेत्रफलबाट ६४२ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ। सोही अवधिमा ६४ मेट्रिक टन कफी निर्यात हुँदा करिब १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी आयात भएको तथ्यांक सार्वजनिक गरिएको छ।
बोर्डका अनुसार नेपाली कफी मुख्यतः अर्गानिक अरेबिका जातको उत्पादन हुने भएकाले स्वाद र गुणस्तरका आधारमा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य पाइरहेको छ। नेपालबाट जर्मनी, जापान, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, अष्ट्रेलिया लगायत मुलुकमा कफी निर्यात हुँदै आएको छ।
गण्डकी प्रदेश कफी उत्पादन र उपभोग दुवै हिसाबले अग्रणी प्रदेशका रूपमा रहेको बोर्डले जनाएको छ। प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा कफी उत्पादन भइरहेको छ। गत आर्थिक वर्ष प्रदेशमा १,५५१ हेक्टर क्षेत्रफलमा कफी खेती भई १५६ मेट्रिक टन ग्रिन बिन उत्पादन भएको थियो। पोखरामा मात्रै १,५०० भन्दा बढी कफी क्याफेमार्फत नेपाली कफीको खपत भइरहेको बोर्डको दाबी छ।
चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा देशभरका कफी उत्पादक, व्यवसायी, प्रशोधनकर्ता, उपभोक्ता र सरोकारवालाको सहभागिता रहनेछ। कार्यक्रममा उत्कृष्ट कफीको निःशुल्क कपिङ, कफी नर्सरी तथा बोटको अवलोकन, बीउदेखि कपसम्मको मूल्य शृंखला प्रदर्शन, कफीसम्बन्धी उपकरण प्रदर्शनी, प्राविधिक अन्तरक्रिया तथा राष्ट्रिय कपिङ च्याम्पियनसिपका विजेतालाई सम्मान गरिने कार्यक्रम रहेको निर्देशक पुरीले बताए।
राष्ट्रिय कपिङ च्याम्पियनसिपतर्फ कफी सहकारी संघ लिमिटेड, ललितपुर प्रथम भएको छ। महाभारत साना किसान कृषि सहकारी संस्था, काभ्रे दोस्रो भएको छ भने कोट थोक कफी उत्पादक कृषक समूह गोरखा, महादेवटार योग कृषि फार्म काभ्रे र गुल्मी कफी स्टेट प्रालि गुल्मी संयुक्त रूपमा तेस्रो भएका छन्।