सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा व्यावसायिक यात्रा सुरू गरेका दीपक बराल अहिले त्यही कम्पनीको नेपाल व्यवसायको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।
दुई दशकभन्दा लामो समयअघि कम्पनीको अग्रपंक्तिबाट सुरू भएको उनको यात्रा एसियन पेन्ट्स नेपालको कन्ट्री हेडसम्म आइपुगेको हो।
यो जिम्मेवारी पाउने उनी कम्पनीको नेपाल व्यवसायका लागि पहिलो नेपाली भएको कम्पनीले जनाएको छ।
बरालले एसियन पेन्ट्समा आफ्नो सुरुवाती करियरदेखि नै बिक्री, मार्केटिङ र सेल्स एक्टिभेसनलगायत विभिन्न क्षेत्रमा काम गरे।
बजार, ग्राहक र वितरण प्रणालीलाई नजिकबाट बुझ्दै उनी क्रमशः व्यवस्थापनको माथिल्लो तहमा पुगे।
अगस्ट २०२६ सम्म उनले कम्पनीको हेड अफ सेल्स एन्ड मार्केटिङको जिम्मेवारी सम्हालेका थिए।
बीचमा भने उनको करियर एसियन पेन्ट्समै सीमित रहेन। उनले अन्य कम्पनीमा पनि उच्च व्यवस्थापन तहमा रहेर काम गरे।
सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट र सम्राट सिमेन्टलगायतका संस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हालेको कम्पनीले जनाएको छ।
बिक्री, बजारीकरण, व्यवसाय विकास, वितरण व्यवस्थापन र नाफा–नोक्सान व्यवस्थापनमा उनको २४ वर्षभन्दा लामो अनुभव रहेको उल्लेख छ।
सन् २०२४ मा उनी पुनः एसियन पेन्ट्स नेपालमा फर्किए।
त्यसपछि हेड अफ सेल्स एन्ड मार्केटिङका रूपमा कम्पनीको बजार र व्यवसाय विस्तारसँग जोडिएका जिम्मेवारी सम्हाल्दै आएका थिए।
फ्रन्टलाइनबाट सुरू भएको करियरले उनलाई अन्ततः त्यही कम्पनीको देशव्यापी नेतृत्वमा पुर्याएको छ।
एसियन पेन्ट्स नेपालले आफ्नो सामाजिक सञ्जालमा पनि बरालको कम्पनीभित्रको २० वर्षभन्दा लामो यात्रालाई उल्लेख गर्दै उनको नयाँ जिम्मेवारीका लागि बधाई दिएको छ।
व्यावसायिक यात्राका क्रममा बरालले एमडी तथा सिइओ एसिई अवार्ड्स २०२१ अन्तर्गत उत्कृष्ट टोली पुरस्कार समेत प्राप्त गरेका छन्।
एसियन पेन्ट्स नेपाल सन् १९८३ देखि नेपालमा सञ्चालनमा रहेको छ र हेटौँडा औद्योगिक क्षेत्रमा यसको उत्पादन कारखाना छ।
कम्पनीले रंगसँगै वाटरप्रुफिङ तथा होम डेकोरसम्बन्धी उत्पादन र सेवा पनि उपलब्ध गराउँदै आएको छ।