खुमिसरा सिँजाली पाल्पाबाट काम खोज्दै बुटवल झरेकी थिइन्।
२१ वर्षीया खुमिसरा एक वर्षअघि बुटवल झर्दा के काम गर्ने भन्ने कुनै योजना थिएन। नौ कक्षापछि बीचमै पढाइ छाडेर काम खोज्दै हिँडेकी उनले केही दिन घर बनाउने ठाउँमा मजदुरी गरिन्।
अहिले उनी काठको फर्निचर उद्योगमा आरा र रन्दा चलाउँछिन्।
पाल्पा रामपुरका चन्दा राना र जिवानी थापाले फर्निचर उद्योगमा काम गर्न थालेको डेढ वर्ष भयो। उनीहरू पनि जीविकोपार्जनका लागि काम खोज्दै बुटवल झरेका थिए।
चन्दाका बुबा ठेक्का लिएर सानोतिनो निर्माण काम गर्थे। चन्दा पनि बुबाकै पछि लागेर केही समय निर्माण मजदुरका रूपमा काम गरिन्।
दिनभरि चर्को घामपानीमा इँटा र सिमेन्ट बोक्ने, बालुवा चाल्ने काम गर्न गाह्रो भएपछि चन्दा र जिवानी डेढ वर्षदेखि फर्निचर उद्योगमा काम गरिरहेका छन्।
खुमिसरा, चन्दा र जिवानी मात्र होइन, उनीहरूको सिको गर्दै रामपुरकै जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना पनि ६ महिनादेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जय सिद्ध बाबा फर्निचर एन्ड ग्लास हाउसमा फर्निचर बनाउन सिकिरहेका छन्।

हाम्रो समाजमा फलाम र भारी काठको काम महिलाहरूले गरेको कमै मात्र देखिन्छ।
तर यी युवतीहरू मेसिनको चर्को आवाज र धूलोका बीच काठलाई सुन्दर आकार दिइरहेका भेटिन्छन्।
'हामी केही काम गर्ने भनेर नै पाल्पाबाट बुटवल झरेका थियौं। दिनभरि चर्को घामपानीमा इँटा र सिमेन्टमा काम गर्नुभन्दा ओतमा बसेर काठको काम गर्नु राम्रो लाग्यो,' उनीहरू एकसाथ भन्छन्।
पुरूष मिस्त्रीहरूले नापेर मेसिनले काटिदिएका काठ जोडेर कुर्सी, टेबल, जाली ढोका जोड्ने र रङ लगाउने जिम्मेवारी उनीहरूको हातमा छ।
फर्निचरका लागि मेसिन चलाएर काठ नापेर काट्न अझै कठिन हुन्छ।
'मिस्त्री दाइहरूले काटिदिएका काठका टुक्रा जोडेर जाली ढोकाको फ्रेम बनाउने, जाली ठोक्ने, लो बेड, टेबल, कुर्सी जोड्छौं। रङ र पोलिस गर्ने काम त हाम्रै भइहाल्यो,' खुमिसराले भनिन्।

उनका अनुसार रङ लगाउने, पोलिस गर्ने काम हेर्दा सजिलो लागे पनि त्यति सहज छैन। अलि धेरै भयो भने लेग्रा देखिन्छ, थोरै भए काठको रेसा नै देखिन्छ। ठिक्क मिलाएर लगाउनु सीप हो।
काठमा रन्दा र हतौडा चलाउँदा सुरूका केही दिन गाह्रो भए पनि बानी पर्दै गएको उनीहरूको अनुभव छ।
'सुरूमा त धेरै गाह्रो भयो। काँटी ठोक्दा हातका औंलामा धेरै पटक हतौडा लागेको छ। रन्दा लगाउँदा हातकै मासु र छाला काटिएको छ। अहिले बानी परिसक्यो,' खुमिसरा भन्छिन्।
अहिले मिस्त्रीहरूसँग मिलेर लो–बेड जोड्ने, टिक प्लाई, फरमाइका टाँस्ने, पोलिस गर्ने, दराजमा काँटी ठोक्ने, रन्दा र ग्राइन्डर लगाउने जस्ता काम सजिलै गर्न सक्ने उनले बताइन्।
सिक्दै गएपछि कुनै काम गाह्रो नहुने चन्दाको अनुभव छ।
उनले गाउँघरमा बुबाबाजेहरूले पिर्का बनाएको देखेकी थिइन्। त्यसबाहेक अरू फर्निचर बनाएको देखिनन्। काठका ठूला ठूला मुढा मेसिनले चिर्छ भन्ने त पहिलो पटक उद्योगमा छिरेपछि नै थाहा भयो।
'अहिले मलाई सबै सामान्य लाग्न थालेको छ,' उनले भनिन्।
१६ वर्षीया गंगा र जमुना १२ कक्षाको परीक्षा दिएर हातमा सीप खोज्दै बुटवल झरेका थिए। तर के गर्ने भन्ने अलमलमा थिए।
केही समय पानी फ्याक्ट्रीमा काम गरे। चिसो पानीमा काम गर्दा धेरै गाह्रो भयो। हातखुट्टा सुन्निन थालेपछि काम छाडे।

'दिदीहरूले फर्निचर बनाउन सिकिरहेको थाहा पाएपछि हामी पनि उहाँहरूलाई पछ्याउँदै यही काममा लाग्यौं,' गंगाले भनिन्।
गंगा र जमुना भविष्यमा रोजगारीका लागि विदेश जाने योजना बुनिरहेका छन्। फर्निचर बनाउने काम जुन देशमा गए पनि सहज रूपमा पाइने उनीहरू बताउँछन्।
उनीहरूको चाहना सकेसम्म कोरिया जाने छ। १८ वर्ष नपुगेसम्म कोरियन भाषा पढ्न पनि नपाइने भएपछि त्यतिन्जेल फर्निचर बनाउन सिकिरहेको उनीहरू बताउँछन्।
काम सुरू गरेको छोटो समयमै पाल्पाका यी पाँच युवतीले यही पेसामै भविष्य देख्न थालेका छन्। दैनिक अरूको अह्रनखटन, चर्को घाम र पानीमा गर्नुपर्ने कामभन्दा ओतमा बसेर काम गर्न सजिलो हुने उनीहरूको भनाइ छ।
'काम त जुनसुकै पनि गाह्रो हुन्छ। तर पछि गएर यही कामले जीविका चलाउन सकिन्छ भन्ने लागेको छ। मेरो लक्ष्य आफै फर्निचर उद्योग खोल्ने हो। जहिले पनि लक्ष्य ठूलो लिनुपर्छ रे,' खुमिसराले हाँस्दै भनिन्।
पढाइ बीचमै छाडेर काम खोज्दै हिँडेकी खुमिसरा अहिले पढ्न पनि थालेकी छन्। बुटवलको कान्ति माविमा १० कक्षामा भर्ना भएकी उनी बिहानको कक्षा लिएर दिउँसो उद्योग जान्छिन्।
काम सिक्न थालेपछि बल्ल पढाइको महत्त्व बुझेको उनले बताइन्।
'काठ काट्न, जोड्न पनि हिसाब चाहिने रहेछ। त्यसैले १० कक्षामा भर्ना भएर पढ्दै छु। कामसँगै पढाइलाई पनि निरन्तरता दिन्छु। जे काम गरे पनि पढाइ त चाहिन्छ नै,' उनले भनिन्।
पहिले सबै काठ एउटै ठान्ने उनीहरू अहिले फरक छुट्ट्याउन थालेका छन्।
कुनै काठ हेर्दा राम्रो देखिन्छ, तर काँटी ठोक्दा फुट्छ। आरा लगाउँदा बांगो भइदिन्छ। रन्दा लाग्दैन।
कुनै काठ कोमल हुन्छ। चाहेको ठाउँमै काट्न र काँटी ठोक्न सकिन्छ। फर्निचर बनाउन यस्तै काठ राम्रो हुने उनीहरू बताउँछन्।
काम सिक्दै गर्दा पनि बिना पारिश्रमिक काम गर्न भने नपरेको उनीहरूले बताए।
कतिपय ठाउँमा सीप सिक्दा शुल्क तिर्नुपर्छ। उनीहरूले भने पारिश्रमिक बिना एक दिन काम गर्नुपरेन। अहिले उनीहरूको न्यूनतम पारिश्रमिक महिनाको १५ हजार रूपैयाँ हो। अतिरिक्त समय (ओभरटाइम) गर्दा बढ्छ।

उनीहरूका लागि यो काम केवल रोजगारी होइन, समाजको पुरातन सोचविरूद्धको एउटा सशक्त विद्रोह र आत्मनिर्भरताको प्रेरणादायी यात्रा पनि हो।
बिहान ९ बजे नै उद्योगमा हतौडा र आरा चलाउँदै गर्दा 'यो केटीहरूले गर्ने काम होइन' भनेर निरूत्साहित गर्नेहरू पनि थिए। तर उनीहरूको कामलाई उद्योगी प्रेमबहादुर गौतमले निरन्तर प्रोत्साहन गर्दै गए। छोटो समयमै कामप्रतिको लगाव र इमानदारीले आज उनीहरूलाई उद्योगले एक अभिन्न अंग बनाएको छ।
'सरकारी निकायको सिफारिसमा अरू महिला पनि उद्योगमा काम सिक्न आउनुहुन्छ। एक–दुई महिना काम सिकेपछि हराउनुहुन्छ। यी बहिनीहरूको लगाव भने बेग्लै छ,' प्रेमले भने।
काठलाई आकार दिन सीप सिक्दै गरेका सिकारू सिकर्मीको मात्र कथा होइन यो। यो आफ्नो भाग्य र भविष्यको स्वरूप आफै कुँद्ने साहसी युवतीहरूको कथा हो।
त्यसैले शंकरनगरको यो फर्निचर उद्योगबाट निस्किने हरेक फर्निचरमा काठको बासना मात्र छैन— खुमिसरा, चन्दा, जिवानी र गंगा–जमुनाहरूको पसिना, मेहनत र सफलताको सुगन्ध पनि जोडिएको छ।