नेकपा एमालेले सूचना प्रविधि र स्टार्टअप क्षेत्रमा युवाहरूको सहभागिता बढाउन नयाँ योजना घोषणा गरेको छ।
पार्टीले युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने घोषणा गरेको हो।
यो योजना अन्तर्गत, सूचना प्रविधि (आइटी) उत्पादनहरूको अनुसन्धान, उत्पादन, निर्यात र अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउने उद्देश्य राखिएको छ।
कार्डको माध्यमबाट युवाहरू एआई (कृत्रिम बुद्धिमता) कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास तथा अन्य आइटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सजिलो हुने एमालेले जनाएको छ।
घोषणापत्र अनुसार, यस सुविधाले करिब १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ।
साथै, पार्टीले विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न र विदेशी कम्पनीमा सेयर खरिद गर्न सक्ने प्रक्रियालाई थप सरल र व्यवस्थित बनाउने योजना बनाएको छ।
एमालेले बिहीबार आगामी फागुन २१ गते हुने चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको हो।