नेपाली कांग्रेसले ‘रोजगारी कांग्रेस’ अभियान सार्वजनिक गर्दै 'खोज्ने होइन, रोजगारी सिर्जना गर्ने' मुख्य मन्त्र अघि सारेको छ।
पार्टीले आगामी पाँच वर्षभित्र १५ लाख मर्यादित तथा उत्पादनशील रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेको हो।
'मिसन रोजगारी' मार्फत चार क्षेत्रमा विशेष जोड दिएको छ। सूचना प्रविधि, पर्यटन, कृषि र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर विस्तार गरिने, यी क्षेत्रलाई लगानी, पूर्वाधार र सीप विकाससँग जोड्दै आन्तरिक तथा निर्यातमुखी रोजगारी बढाइने उल्लेख गरेको छ।
सरकारमा आए कांग्रेसले नयाँ सोच र नवप्रवर्तनशील परियोजना भएका युवा तथा महिलालाई परियोजनाकै धितोमा ५ देखि ५० लाख रूपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने योजना सार्वजनिक गरेको छ।
त्यस्तै, उच्च शिक्षालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले 'डिग्री प्लस' कार्यक्रम ल्याउने कांग्रेसले बताएको छ। यसअन्तर्गत विद्यार्थीले अध्ययनकै क्रममा इन्टर्नशिप र व्यावहारिक सीप हासिल गर्दै आम्दानी गर्न सक्ने व्यवस्था मिलाइनेछ।
सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै सफ्टवेयर निर्माण र डिजिटल सेवा निर्यातमार्फत मात्र १ लाख उच्च गुणस्तरको रोजगारी सिर्जना गर्ने पनि बताइएको छ।