सरकारले बिहीबार हुने निर्वाचनलाई मध्यनजर गर्दै बुधबारदेखि सम्पूर्ण भन्सार नाकाहरू ७२ घण्टाका लागि बन्द गरेको छ।
भन्सार विभागका अनुसार निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै उत्तर र दक्षिण दुवैतर्फका सीमा नाका बन्द गरी नियमित आयात तथा आवागमन अस्थायी रूपमा रोक लगाइएको हो।
यद्यपि अत्यावश्यक वस्तुको आयातमा भने कुनै अवरोध नहुने जनाइएको छ।
विभागका अनुसार पेट्रोलियम पदार्थ, ग्यास, फलफूल, तरकारीलगायतका अत्यावश्यक सामग्रीहरू नियमित रूपमा भित्रिरहेका छन् र निर्वाचनको दिन पनि आपूर्ति जारी रहनेछ।
भन्सार परिसरमा यसअघि नै आइपुगेका अन्य सामानहरूको जाँचपास भने निर्वाचन सकिएपछि मात्रै सुरू गरिने विभागले जनाएको छ।
मानिसहरूको आवतजावत र नियमित सामग्रीको आपूर्ति ७२ घण्टापछि पुनः सञ्चालनमा आउने विभागले जानकारी दिएको छ।