नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्य समितिको लागि उद्योग व्यवसायीले भटाभट उम्मेदवारी घोषणा गर्न थालेका छन्।
चैत २८ र २९ गते काठमाडौंमा हुने अधिवेसनले महासंघको विधानअनुसार स्वतः अध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित गर्नेछ।
अन्य पदको लागि भने उम्मेदवारी घोषणा भइरहेको छ।
यसबीच महासंघको एसोसिएट उपाध्यक्षमा सिटिजन बैंकका अध्यक्ष तथा लोमस ग्रुपका सञ्चालक प्रवलजंग पाण्डेले उम्मेदवारी दाबी गरेका छन्।
लामो समयदेखि महासंघको राजनीतिमा देखिएका पाण्डे अघिल्लो निर्वाचनमा पनि उपाध्यक्षमा दाबी गरेका थिए। तर टिम व्यवस्थापन गर्ने क्रममा उनी उपाध्यक्षमा प्रतिस्पर्धा गरेनन्।
पाण्डेले महासंघमा तीन कार्यकाल कार्यकारीणी सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्।
उनी महासंघ पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन्।
'अहिले निजी क्षेत्रको मनोवल निकै खस्किएको समय छ, लामो समयदेखि लगानीको लागि अनुकूल वातावरण बनेको छैन,' पाण्डेले भने 'अब दुईतिहाइ उन्मुख सरकार बन्दैछ।'
यस बेलामा निजी क्षेत्रले आफ्नो धारणा स्पष्ट रूपमा लैजानु पर्ने हुन्छ। लामो समय यो क्षेत्रमा काम गरेको र महासंघमा विभिन्न भूमिका निभाएको कारण मैले यो पदको न्याय गर्छु भनेर उम्मेदवारी दाबी गरेको छु,' पाण्डेले थपे।
इन्जिनियर पृष्ठभूमिका पाण्डे व्यवसायमा प्रवेश गर्नुअघि उनीसँग नेपाल टेलिकममा काम गरेका थिए। औषधि उत्पादक लोमस ग्रुप, सिमेन्ट, बैंक र बीमालगायतका क्षेत्रमा उनको लगानी छ।
उनले व्यवसायिक वातावरण सुधारको लागि नीतिगत स्थिरता आवश्यक रहेको र केही थाती रहेका सुधारको कामलाई पूरा गर्नुपर्ने बताए।
आयकरको दर घटाउने पर्ने, भ्याटलाई बहुदरमा कार्यान्वयनमा लैजानुपर्ने, उद्योगहरूमा कम महशुल विद्युत उपलब्ध गराउनु पर्ने लगायतका माग उनले राखेका छन्।