व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) ले निर्यातजन्य वस्तुको उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार खोजिरहेका व्यवसायीहरूलाई आगामी वर्षको लागि कार्यक्रम पेस गर्न आग्रह गरेको छ।
केन्द्रले अहिलेको नेपालको निर्यात अवस्था, नेपालले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय बजारको माग लगायतका तथ्यांक प्रस्तुत गरेर व्यवसायीहरूलाई कार्यक्रम ल्याउन भनेको हो।
टिइपिसीका प्रतिनिधिहरूले कस्ता कार्यक्रम बजेटमा समावेश गर्न सकिन्छ? निजी क्षेत्रलाई कुन प्रकारको सहयोग गर्न सकिने हो? कार्यक्रम ल्याउँदा कस्ता कुरामा ध्यान दिनुपर्ने हो? भन्ने विषयमा जानकारी गराइएको थियो।
केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणाले निर्यातकर्ताको भावनालाई बजेटमा समेटी देशको समग्र निर्यातमा नयाँ गति र दिशा दिई वर्तमान व्यापार घाटा न्यूनीकरण गर्न निर्यातजन्य प्रवर्द्धनात्मक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए।
व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिका सदस्य निराजनबहादुर चलाउनेले निर्यात प्रवर्द्धनात्मक बजेटको आकार र दायरा दुवै बढाउनुपर्ने भन्दै निर्यातकर्ताले वास्तविक रूपमा भोगिरहेका समस्याहरूको समाधानमा आगामी बजेटमा प्राथमिकता दिन पहल गर्ने बताए।
वस्तुगत तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय बजारमा सहज प्रवेश र नेपाली वस्तुको प्रचारका लागि कार्यक्रम तय गर्नुपर्ने बताएका थिए।