अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन, सेवा प्रवाह सुधार र आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले परिणाममुखी काममार्फत नागरिकलाई प्रत्यक्ष अनुभूति हुने परिवर्तन ल्याउने बताए।
उनका अनुसार जिम्मेवारी गम्भीर भएकाले परम्परागत ढर्रामा काम गर्दा अपेक्षित गति हासिल हुन नसक्ने उल्लेख गरे।
राजनीतिक नेतृत्व पारदर्शी र स्वच्छ भए कर्मचारीतन्त्रले स्वतः सहयोग गर्ने भन्दै नेतृत्व सक्षम भए संस्था पनि सुदृढ हुने धारणा व्यक्त गरे।
सुशासनका सवालमा कठोर बन्ने संकेत गर्दै उनले कानुन बनाउने मात्र नभई त्यसको इमान्दार कार्यान्वयन अपरिहार्य रहेको बताए।
'घुस ख्वाउन नपर्ने, लाइन बस्न नपर्ने अवस्था सिर्जना गर्नुपर्छ,' उनले भने, 'सेवा प्रवाह सुधार अहिलेको सरकारको सबैभन्दा महत्वपूर्ण एजेन्डा हो।'
कर्मचारीतन्त्र सुधारतर्फ संकेत गर्दै मन्त्री वाग्लेले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने तर दायित्व पूरा नगर्नेप्रति कडाइ गरिने स्पष्ट पारे।
कर्मचारीको दलीयकरण अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले निष्पक्ष प्रशासन निर्माणमा ध्यान दिने बताए।
आर्थिक क्षेत्रतर्फ उनले २०५० को दशकको सुधारलाई दोस्रो चरणमा लैजाने तयारी भइरहेको उल्लेख गरे।
पूर्वाधार विकास, विशेषगरी हवाई र स्थल कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राखिने उनले बताए।
साथै न्यून तथा मध्यम आय भएका नागरिकलाई केन्द्रमा राखेर नीति बनाइने जानकारी दिए।
प्रवासमा रहेका नेपालीको लगानी भित्र्याउन वातावरण निर्माण गरिने भन्दै उनले डायस्पोरालाई आर्थिक विकासमा जोड्ने रणनीति अघि बढाइने बताए।
स्वदेशी उद्यमशीलता प्रवर्द्धन र प्रशासनिक डिजिटलाइजेसनलाई पनि प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।
निजी क्षेत्रको मनोबल उकास्न कानुनी र व्यवहारिक समस्या पहिचान गरी समाधान गरिने उल्लेख गर्दै उनले ठूला आयोजनाका लागि एकीकृत कानुन ल्याउने सम्भावना पनि औंल्याए।
आवश्यक नयाँ तथा संशोधन गर्नुपर्ने कानुनलाई प्राथमिकताका आधारमा द्रुत गतिमा अघि बढाइने उनको भनाइ छ।
आगामी नीतिहरू तथ्य–तथ्यांकका आधारमा निर्माण गरिने र विगतका राम्रा अभ्यासलाई निरन्तरता दिइने उनले बताए।
संसद र संसदीय समितिलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै उनले विधायिकी कार्यलाई प्राथमिकता दिने अपेक्षा व्यक्त गरे।
नेपाललाई सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्यसहित सरकार अघि बढ्ने उनले बताए।