नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक क्षेत्र सुधारका लागि आवश्यक नीतिगत परिवर्तनलाई तीव्रतासाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शपथ ग्रहणपछि अर्थ मन्त्रालयमा पदबहाली गर्दै उनले आर्थिक क्षेत्र सुधारका लागि विक्रम सम्बत् २०५० को दशकमा सुरू भएको नीतिगत परिवर्तनलाई दोस्रो चरणमा लैजाने तयारी भइरहेको बताएका हुन्।
उनले सुशासन, सेवा प्रवाह सुधार र आर्थिक पुनरूत्थानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्। परिणाममुखी काममार्फत नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिवर्तन ल्याइने उनले बताए।
सुशासनका सवालमा कठोर बन्ने संकेत गर्दै वाग्लेले कानुन बनाउने मात्र नभई त्यसको इमानदार कार्यान्वयन आवश्यक रहेको पनि उल्लेख गरे।
'घुस खुवाउन नपर्ने र लाइन बस्न नपर्ने अवस्था सिर्जना गर्नुपर्छ,' उनले भने, 'सेवा प्रवाह सुधार अहिलेको सरकारको मुख्य एजेन्डा हो।'
कर्मचारीतन्त्र सुधारतर्फ संकेत गर्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र जिम्मेवारी पूरा नगर्नेप्रति कडाइ गरिने स्पष्ट पारे। कर्मचारीको दलीयकरण अन्त्य गर्दै निष्पक्ष प्रशासन निर्माणमा जोड दिने उनको भनाइ छ।
पूर्वाधार विकास, विशेषगरी हवाई र स्थलगत कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राखिने तथा न्यून र मध्यम आय भएका नागरिकलाई केन्द्रमा राखेर नीति निर्माण गरिने उनले जानकारी दिए।
प्रवासी नेपालीको लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गरिने बताउँदै वाग्लेले डायस्पोरालाई आर्थिक विकाससँग जोड्ने रणनीति अघि बढाइने उल्लेख गरे। स्वदेशी उद्यमशीलता प्रवर्द्धन र प्रशासनिक डिजिटाइजेसनलाई पनि प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।
निजी क्षेत्रको मनोबल उकास्न कानुनी तथा व्यवहारिक समस्या पहिचान गरी समाधान गरिने उनले बताए।
ठूला आयोजनाका लागि एकीकृत कानुन ल्याउने सम्भावना औंल्याउँदै आवश्यक नयाँ तथा संशोधन गर्नुपर्ने कानुनलाई द्रुत गतिमा अघि बढाइने उनको भनाइ छ।
आगामी नीतिहरू तथ्यमा आधारित हुने र विगतका सकारात्मक अभ्यासलाई निरन्तरता दिइने उनले बताए।
संसद र संसदीय समितिलाई प्रभावकारी बनाउँदै विधायिकी कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता उनले व्यक्त गरे।
नेपाललाई सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्यसहित सरकार अघि बढ्ने वाग्लेले बताए।