अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी बढाउनको लागि सुझाव दिएका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले लगानी र रोजगारी बढाउन आग्रह गरेका हुन्।
उनले निजी क्षेत्रले अब कम्तीमा तीन झन्जटबाट मुक्त हुने बताए।
'अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, थुनिनु पर्दैन,' अर्थमन्त्री वाग्लेले भने।
उनले देशलाई नयाँ गति दिने ढंगले काम गर्ने बताए।
'म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न। म अर्थतन्त्रको जहाजलाई नयाँ गतिमा लैजान आएको हुँ,' वाग्लेले भने।
सरकार निजी क्षेत्रको सहयात्री भएको कारण निजी क्षेत्रले दुःख नपाउने उनको भनाइ छ।
'निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूको सहयात्री हौँ,' वाग्लेले भने।
निजी क्षेत्रले गर्ने आर्थिक बेइमानीमा थुन्ने भन्दा पनि आर्थिक जरिवाना तिराइने उनको भनाइ छ।
लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघले यो मुद्दा उठाउॅंदै आएको थियो।
'आर्थिक बेइमानीमा हामी अब आर्थिक जरिवानामा जान्छौँ। उद्योगी व्यपारी थुनिनु पर्दैन,' वाग्लेले भने 'तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रबाट पनि बेइमानी नहोला भन्ने अपेक्षा छ। नियोजित बेइमानी गर्छ भने त्यसमा हामी निर्मम हुन्छौँ।'