मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त गर्यो।
यसअघिका वर्षहरूमा एकैपटक दुई वटै डेपुटी गभर्नर नियुक्त गरिँदै आएकोमा यसपटक एक जना मात्रै नियुक्त भएपछि धेरैले यस विषयमा चासो व्यक्त गरेका छन्।
डेपुटी गभर्नर एकै पटक नियुक्त गर्ने प्रवृत्तिले सो दुवै पद एकै पटक रिक्त हुने र कामकारबाही प्रभावित हुने गरेकोले यसरी एक जना मात्रै डेपुटी गभर्नर नियुक्त गरिएको स्रोतले बतायो।
‘अहिले दुवै डेपुटी एकै पटक बाहिरिँदा गभर्नर कहीँकतै जान नमिल्ने, काममा समस्या आउने भइरहेको थियो,’ स्रोतले भन्यो, ‘त्यसैले अहिले एक जना मात्रै नियुक्त गरिएको हो। अर्को डेपुटी गभर्नरमा जुनसुकै समयमा पनि नियुक्ति हुन सक्छ, दुई साता, तीन महिना वा ६ महिना जुनसुकै समयमा पनि हुन सक्छ।’
राष्ट्र बैंकमा केही वर्षअघिसम्म एक जना डेपुटी नियुक्त गरेपछि केही समयको अन्तरालमा मात्रै अर्को नियुक्ति हुँदै आएको थियो। डा.युवराज खतिवडा गभर्नर हुँदा राजनीतिक भागबण्डाको कारण डेपुटी सिफारिस गर्दा समय लागेपछि एकै पटक नियुक्त गरिएको थियो। त्यसयता यसरी एकै पटक डेपुटी नियुक्त गर्ने प्रचलन सुरू भएको हो।
राजनीति भागबण्डाको कारण एकै पटक दुवै डेपुटी नियुक्त हुने गरिएकोमा त्यो प्रवृत्ति हटाइएको स्रोतको दाबी छ।
राष्ट्र बैंकमा नियुक्त हुने दुईमध्ये एक जनालाई वरिष्ठ डेपुटी गभर्नर तोक्ने र यस्तो वरिष्ठ डेपुटीले गभर्नरको अनुपस्थितिमा कार्यभार सम्हालने गरिएको छ।
आज डेपुटीमा नियुक्त भएका किरण पण्डितलाई वरिष्ठ वा कनिष्ठ भनेर छुट्याइएको छैन।
‘भोलिका दिनमा यदि उहाँभन्दा वरिष्ठ कोही डेपुटीमा नियुक्त हुनु भए सो व्यक्ति नै वरिष्ठको रूपमा तोक्ने तयारी भएको स्रोतले बताएको छ।
डेपुटी गभर्नरको अवधि पाँच वर्षको हुन्छ।
यसअघिका बम बहादुर मिश्र र निलम ढुंगाना डेपुटी गभर्नरको पदावधि सकिएसँगै केन्द्रीय बैंकमा फागुन २४ गतेदेखि दुवै डेपुटी गभर्नर पद रिक्त थियो।
पण्डित भने विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए।
पण्डितले यसअघि राष्ट्र बैंकभित्र बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, भुक्तानी प्रणाली विभाग लगायतमा काम गरिसकेका छन्।