कम्पनीसम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई सहज बनाउन कम्पनी रजिष्ट्रारको कार्यालयमा 'निशुल्क परामर्श सेवा डेस्क' (सहायता कक्ष) सञ्चालनमा आएको छ।
हिजो (बुधबार) लागु गरिएको यस व्यवस्थाअनुसार अब सेवाग्राहीले कम्पनी प्रशासन तथा सिएएमआइएस प्रणालीसम्बन्धी जानकारी, परामर्श र निवेदनसम्बन्धी सहयोग एकै ठाउँबाट पाउने बताइएको छ।
कार्यालयका अनुसार सहायता कक्षबाट सेवाग्राहीलाई प्रत्यक्ष तथा टेलिफोनमार्फत आवश्यक सूचना उपलब्ध गराइनेछ।
साथै, कम्पनीसम्बन्धी विभिन्न निवेदनहरू उपलब्ध गराउने, भर्न सहयोग गर्ने र आवश्यक परेमा कर्मचारीहरूले नै निवेदन लेखिदिने व्यवस्था गरिएको छ।
विशेषगरी पहिचान प्रमाणीकरण (सनाखत)सम्बन्धी निवेदनमा सेवाग्राहीलाई सहज बनाउन कर्मचारीले नै विवरण तयार गरिदिने बताइएको छ।
मुद्दाबाहेकका अन्य सेवाका लागि पनि आवश्यक परेमा निवेदन तयार पार्न सहयोग गरिने कार्यालयले जनाएको छ।
यसले प्रक्रियागत झन्झट घटाउँदै सेवा छिटो उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यसअघि कार्यालयबाहिर सहायता कक्षका नाममा डेस्क राख्ने गरिएको र त्यहाँ बाहिरी व्यक्तिहरू सक्रिय हुने अवस्था थियो।
नयाँ व्यवस्थासँगै अब त्यस्ता गतिविधि अन्त्य हुने र सेवाग्राहीले सिधै कार्यालयभित्रै आधिकारिक रूपमा सेवा पाउने व्यवस्था गरिएको छ।
यससँगै, सेवा लिँदा आएका समस्या, गुनासा तथा सेवा अनुरोधहरूको अभिलेख राख्ने र नियमित रिपोर्टिङ गर्ने व्यवस्था पनि गरिएको छ।
सेवा उपयोग गर्ने सेवाग्राहीको संख्या, समाधान भएका समस्याहरू तथा रेकर्ड प्रणालीको प्रभावकारितालाई सूचकका रूपमा लिइने कार्यालयले जनाएको छ।