अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी रूपमा ऊर्जा र अर्थतन्त्रमा गम्भीर र असमान असर परेको जनाएका छन्।
यी तीन निकायले संयुक्त विज्ञप्ति जारी गर्दै विशेषगरी ऊर्जा आयातमा निर्भर तथा न्यून आय भएका देशहरूमा यसको प्रभाव बढी देखिएको उल्लेख गरेका हुन्।
तेल, ग्यास र मलको मूल्य बढ्दा खाद्य सुरक्षामा जोखिम बढेको र रोजगारीमा पनि असर पर्ने बताइएको छ। उनीहरूको संयुक्त विज्ञप्तिमा युद्धको प्रभाव अझै अनिश्चित रहेको उल्लेख छ।
विशेषगरी स्ट्रेट अफ हर्मुजबाट हुने ढुवानी पूर्ण रूपमा सामान्य नभएकाले आपूर्ति व्यवस्थामा समस्या कायम रहेको बताइएको छ।
ढुवानी सामान्य भए पनि युद्धअघि जस्तो आपूर्ति स्तरमा फर्किन समय लाग्ने र पूर्वाधारमा भएको क्षतिका कारण इन्धन तथा मलको मूल्य लामो समयसम्म उच्च रहन सक्ने उल्लेख गरिएको छ।
आपूर्ति अवरोधका कारण आवश्यक कच्चा पदार्थको अभावले ऊर्जा, खाद्य र अन्य उद्योगमा थप दबाब पर्ने सम्भावना रहेको जनाइएको छ।
युद्धका कारण ठूलो संख्यामा मानिस विस्थापित भएका छन्, रोजगारी प्रभावित भएको छ र पर्यटन तथा यात्रा गतिविधि घटेको छ।
यी क्षेत्रहरू सामान्य अवस्थामा फर्कन समय लाग्ने उल्लेख गरिएको छ।
ती संस्थाहरूले सबैभन्दा बढी प्रभावित देशहरूको अवस्थाबारे समीक्षा गर्दै आवश्यकताअनुसार नीति सुझाव र वित्तीय सहयोग प्रदान गर्ने तयारी रहेको बताएका छन्। उनीहरूबीच देशस्तरमै सहकार्य भइरहेको र प्रभावित देशहरूलाई लक्षित सहयोग उपलब्ध गराइने जनाइएको छ।
ऊर्जा बजार, विश्व अर्थतन्त्र र विभिन्न देशहरूमा परेको प्रभावको निरन्तर अनुगमन गर्दै स्थायित्व, आर्थिक वृद्धि र रोजगारी सुनिश्चित गर्ने दिशामा समन्वित प्रयास जारी राख्ने पनि संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।