विश्व बैंक समूहले बहुपक्षीय विकास बैंक, विकास वित्त संस्थाहरू र अन्य साझेदारसँग मिलेर 'वाटर फरवार्ड' नामक विश्वव्यापी प्लेटफर्म सुरू गरेको छ।
सन् २०३० सम्म १ अर्ब मानिसको जल सुरक्षा सुधार गर्ने लक्ष्यसहित सुरू गरिएको यो पहलले नीतिगत सुधार, वित्तीय स्रोत र साझेदारीलाई एउटै ढाँचामा ल्याएर विश्वसनीय खानेपानी सेवा विस्तार गर्ने तथा खडेरी र बाढी जस्ता जोखिमसँग जुध्न सक्ने प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पानी स्वास्थ्य, खाद्य प्रणाली र ऊर्जाको आधार हो।
विश्वभर करिब १ अर्ब ७० करोड रोजगारी पानीसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। तर, अझै पनि ४ अर्ब मानिसले पानीको अभाव भोगिरहेका विज्ञप्तिमा उल्लेख छ।
धेरै देशमा अस्पष्ट नीति, कमजोर नियमन र आर्थिक रूपमा टिकाउ नभएका सेवा प्रदायकका कारण जल क्षेत्रमा प्रगति सुस्त बनेको छ र लगानी आकर्षित हुन नसकेको औंल्याइएको छ।
'वाटर फरवार्ड' पहलले विकासशील देशहरूलाई मजबुत र भरपर्दो जल प्रणाली निर्माण गर्न सहयोग गर्ने बताइएको छ।
यसले उत्पादनशीलता बढाउने, जीविकोपार्जनलाई टेवा दिने र निजी लगानी आकर्षित गर्ने वातावरण बनाउने लक्ष्य लिएको छ।
'पानी अर्थतन्त्र सञ्चालनको आधार हो। जब पानी प्रणाली प्रभावकारी हुन्छ, किसानले उत्पादन गर्छन्, व्यवसाय चल्छन् र सहरहरूले लगानी आकर्षित गर्छन्। अब हाम्रो काम सुधार, वित्तीय स्रोत र साझेदारीलाई एउटै दिशामा समन्वय गरी ठूलो स्तरमा विश्वसनीय पानी सेवा पुर्याउनु हो,’ विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाले भने।
यस पहलको मुख्य आधार 'देश-नेतृत्वमा आधारित जल सम्झौता' हो, जसअन्तर्गत सरकारले आफ्नो प्राथमिकता निर्धारण गर्ने, संस्थागत सुधारमा प्रतिबद्धता जनाउने र जल क्षेत्रमा लगानीका मार्ग तय गर्ने उनले बताए।
हालसम्म १४ देशले आफ्ना राष्ट्रिय जल सम्झौता घोषणा गरिसकेका छन् भने अन्य देशहरू पनि तयारीमा छन्।
बहुपक्षीय विकास बैंक, सरकार, दातृ निकाय र निजी क्षेत्रले वित्तीय स्रोत र प्राविधिक दक्षता एकीकृत गरी पानीसम्बन्धी परियोजनामा लगानी र कार्यान्वयन तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्।
विश्व बैंक समूहले मात्र सन् २०३० सम्म ४० करोड मानिससम्म जल सुरक्षा पुर्याउने लक्ष्य लिएको छ भने साझेदारहरूको सहयोगमा १ अर्बभन्दा बढी मानिससम्म पुग्ने अपेक्षा गरिएको छ।
विकासशील देशहरूमा आगामी १०–१५ वर्षमा १ अर्ब २० करोडभन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्ने अनुमान गरिएको छ।
यस सन्दर्भमा भरपर्दो पानी सेवा अत्यन्त आवश्यक हुने देखिएको छ।
मजबुत जल प्रणालीले निजी लगानी आकर्षित गर्ने र रोजगारी सिर्जना गर्ने स्वस्थ अर्थतन्त्रको आधार तयार पार्छ।