नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म सरकारले तिर्न बाँकी ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड पुगेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब छ। वैदेशिक ऋण १५ खर्ब ४५ अर्ब पुगेको छ।
चालु आवको सुरुवातमा कुल ऋण २६ खर्ब ७४ अर्ब थियो। नौ महिनामै झन्डै साढे २ खर्बले वृद्धि भएको छ।
यस अवधिमा सरकारले ३ खर्ब ४८ अर्ब १५ करोड ऋण उठाएको छ। वार्षिक लक्ष्य ५ खर्ब ९५ अर्ब रहेकोमा हालसम्म ५८.४५ प्रतिशत यो समयमा उठाइएको हो।
आन्तरिक ऋणतर्फ २ खर्ब ८३ अर्ब ६६ करोड उठाइएको छ।
यो लक्ष्यको ७८.३६ प्रतिशत हो। वैदेशिक ऋण भने ६४ अर्ब ४८ करोड मात्र उठेको छ। यो लक्ष्यको २७.६० प्रतिशत हो।
विनिमय दरको उतारचढावले वैदेशिक ऋण थप बढेको छ।
नेपाली रूपैयाँ कमजोर हुँदा १ खर्ब १५ अर्ब ७५ करोड बराबरको थप भार परेको छ।
कुल सार्वजनिक ऋण जिडिपीको ४८.०४ प्रतिशत पुगेको छ।
यसमा आन्तरिक ऋण २२.७३ प्रतिशत र वैदेशिक ऋण २५.३१ प्रतिशत छ।
ऋणको साँवा–ब्याज भुक्तानीमा ठूलो रकम खर्च भएको छ।
नौ महिनामा मात्रै २ खर्ब ५८ अर्ब ४४ करोड खर्च गरिएको छ। यो वार्षिक बजेटको ६२.८८ प्रतिशत हो।
आन्तरिक ऋणतर्फ साँवा भुक्तानी १ खर्ब ६३ अर्ब ७७ करोड छ। ब्याजमा ४५ अर्ब ६० करोड खर्च भएको छ।
वैदेशिक ऋणतर्फ साँवा भुक्तानी ४० अर्ब ३९ करोड छ। ब्याज भुक्तानी ८ अर्ब ६७ करोड पुगेको छ।
यसरी कुल साँवा भुक्तानी २ खर्ब ४ अर्ब र ब्याज भुक्तानी ५४ अर्ब २७ करोड पुगेको छ।