कम्पनी रजिष्ट्रारको कार्यालयमा आम सर्वसाधारणका जिज्ञासा अब एआईबाट समाधान गरिने भएको छ।
यसको लागि कम्पनी रजिस्ट्रारको कार्यालयले एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ।
सेवाग्राहीले ९७००००४४१४ नम्बरमा फोन गरेर कम्पनी दर्ता, प्रशासन तथा कानुनी प्रक्रियासम्बन्धी जानकारी चौबीसै घण्टा दिइने गरी व्यवस्था गरिएको हो।
यो नम्बवरबाट जानकारी प्राप्त नभएको कुराको लागि भने सम्बन्धित शाखाको नम्बर दिइने व्यवस्था गरिएको छ।
आजदेखि एआई कल सेन्टर सञ्चालनमा आएसँगै अफिसमा आउने फोन कलको संख्या घटेको सूचना अधिकारी दिपक ज्ञवालीले बताए।
'आजत मलाई फोन गर्नेको संख्या धेरै घटेको छ। कम्पनी रजिष्ट्रेसनको लागि आवश्यक पर्ने सहित यो कार्यालयले दिने सेवाका विषयमा सबै जानकारी कल सेन्टरबाट नै हुनेछ,' उनले भने।
यसअघि यस प्रकारको सूचना कार्यालय समयमा सूचना अधिकारीबाट दिइने गरेको थियो।
तर एक पटकमा एक जनासँग मात्रै कुरा गर्न सकिने, कार्यालयका अन्य काममा बैठक बस्दा मिटिङ गर्न नसकिने, कार्यालय समयपछि फोन नउठ्ने जस्तो समस्या रहन्थे अब भने एकै पटक जतिसुकै व्यक्तिले पनि फोन गरेर कुरा गर्न सक्नेछन्।