नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सशक्त भूमिका र आर्थिक सुधारको आवश्यकता औंल्याउँदै समृद्ध नेपाल निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्।
उनले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई देशको आर्थिक इतिहासमा दृढ संकल्प, संघर्ष र साझेदारीका महत्वपूर्ण उपलब्धिहरूको श्रृंखला भएको उल्लेख गरे।
ढकालले महासंघले विगतदेखि नै उद्योग, व्यापार र लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान दिएको बताए।
राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति तथा विभिन्न आर्थिक चुनौतीहरूबीच पनि निजी क्षेत्रले आफ्नो भूमिका निरन्तर सुदृढ बनाएको उनको भनाइ थियो।
उनले प्रत्येक चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै आर्थिक विकासलाई अघि बढाउने कार्यमा महासंघ अग्रणी रहेको बताए।
उनले हालै गठन भएको स्थायी सरकारबाट निजी क्षेत्रले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति कार्यान्वयनको निर्णय स्वागतयोग्य भएको बताए।
यसले व्यवसायीहरूको मनोबल बढाउनुका साथै लगानीको सुरक्षित वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।
साथै, नीतिगत स्थायित्व, सुशासन र प्रविधिको प्रयोगमार्फत आर्थिक सुधारलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष ढकालले रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै देशभित्रै सम्मानजनक रोजगारी उपलब्ध गराउनुपर्नेमा जोड दिए।
हरेक वर्ष ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको सन्दर्भमा स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने उनको धारणा थियो।
उनले लगानी वृद्धि, औद्योगिक विस्तार र उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले विगतका आर्थिक नीतिहरूले केही उपलब्धि हासिल भए पनि अपेक्षित प्रगति हुन नसकेको स्वीकार गर्दै अब नयाँ चरणको आर्थिक सुधार आवश्यक भएको बताए।
ऊर्जा, कृषि, पर्यटन र खनिज क्षेत्रको सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले उल्लेख गरे।
ढकालले स्वदेशी पुँजी परिचालनमार्फत ठूला परियोजना अघि बढाउन महासंघले पहल गरिरहेको जानकारी दिँदै यसले 'नेपालमा केही हुँदैन' भन्ने धारणा तोड्ने विश्वास व्यक्त गरे।
साथै, विदेशी लगानी आकर्षित गर्न सुशासन र पारदर्शिता अपरिहार्य रहेको बताए।
उनले समग्रमा निजी क्षेत्रलाई सम्मान गर्दै सहकार्यको वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे।
सकारात्मक सोच, सहकार्य र निरन्तर प्रयासबाट आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उनले सबै उद्योगी–व्यवसायीलाई सक्रिय रूपमा अगाडि बढ्न आह्वान गरे।