सरकारले विद्यालय तहको सिकाइ उपलब्धिमा पठन सीपको सुधार सुस्त रहेको जनाएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार कक्षा ३ को पठन सीपमा राष्ट्रिय औसत ४४.९ अंक रहेको छ।
सन् २०२० को तुलनामा पठन सीपमा केवल १.४ अंकको सामान्य सुधार भएको छ।
तर गणितीय सीपमा भने सुधार देखिएको छ। कक्षा ३ मा गणितीय सिकाइ उपलब्धि ५०.२ अंक पुगेको छ, जुन १३ प्रतिशतले बढी हो।
प्रदेशगत रूपमा गण्डकी प्रदेश पठन र गणित दुवै क्षेत्रमा उत्कृष्ट देखिएको छ भने मधेश र कर्णाली प्रदेशको अवस्था तुलनात्मक रूपमा कमजोर रहेको सर्वेक्षणमा उल्लेख छ।
कक्षा ५ को सिकाइ उपलब्धितर्फ सन् २०२२ मा २२ प्रतिशत विद्यार्थीले मात्र गणितमा न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका छन्।
नेपालीमा ५१ प्रतिशत, विज्ञान तथा प्रविधिमा ५३ प्रतिशत र अंग्रेजीमा ४४ प्रतिशत विद्यार्थीले न्यूनतम उपलब्धि हासिल गरेका छन्।
यसअघि सन् २०१८ मा २८ प्रतिशत विद्यार्थीले गणितमा र ४५ प्रतिशतले नेपालीमा न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका थिए।
कक्षा १० को नतिजामा पनि गणित कमजोर विषयका रूपमा देखिएको छ।
सन् २०२३ को प्रतिवेदन अनुसार ४० प्रतिशत विद्यार्थीले मात्र गणितमा न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका छन्।
नेपालीमा यो संख्या ४६.२ प्रतिशत, विज्ञान तथा प्रविधिमा ४९.९ प्रतिशत र अंग्रेजीमा ७०.६ प्रतिशत रहेको छ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा पाँच जिल्लाका ४३० सामुदायिक माध्यमिक विद्यालयको परीक्षण गर्दा ३४२ विद्यालयको स्तर सामान्य, ८६ विद्यालयको स्तर मध्यम र २ विद्यालयको स्तर कमजोर पाइएको छ।
परीक्षण गरिएका जिल्लामध्ये इलामका विद्यालयको स्तर सबैभन्दा राम्रो देखिएको छ।